खोटाङ, फागुन २५ । खोटाङमा बिभिन्न कार्यक्रम गर्दै १ सय ६ औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइएको छ । महिलाको अधिकार र स्वतन्त्रताको आन्दोलनसँग गाँसिएको दिवस पुरुष सरह महिलाको अधिकार हुनुपर्ने आवाज उठाउँदै मनाइएको छ ।
महिला तथा बालबालिका कार्यालय, अन्तरपार्टी महिला सञ्जाल, अनेमसंघ जिल्ला समिति, अनेमसंघ क्रान्तीकारी, पेशागत महासंघ महिला बिभागको संयुक्त आयोजनामा जिल्लामा दिबस मनाइएको हो । सदरमुकाम दिक्तेलमा ¥याली निकालेपछि सरस्वती उच्च माबिको हलमा अन्तरक्रीया गरिएको थियो । कार्यक्रममा सहभागीले महिलाको विद्यमान अवस्थालाई उठाउन समावेशीकरण, सशक्तीकरण, मूलप्रवाहीकरण, क्षमता विकास, सुरक्षा, संरक्षणजस्ता आयामलाई एकीकृत रूपमा अगाडि बढाउनुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा पुर्वसांसद केपी फुयाँल, उषाकला राई, नेपाली कांग्रेस नेतृ डिल्लीकुमारी आचार्य, नेकपा एमाले उपाध्यक्ष राम दंगाल, एमाओबादीका अध्यक्ष पृथ्बी किराती, अन्तरपार्टी महिला सञ्जालकी अध्यक्ष दिलकुमारी राई, अनेमसंघकी अध्यक्ष मनिषा राई, अनेमसंघ क्रान्तीकारीकी अध्यक्ष निसाना राई, अनेमसंघ–क्रान्तीकारीकी अध्यक्ष सुमिना राई, मानव अधिकारकालागि महिला एकल महिला समुहकी अध्यक्ष सबिता ढकाल लगायतले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काको सभापतित्व तथा जिल्ला न्यायधिस शान्तीराज आचार्यको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।
सन् १९०९ मा पहिलोपटक अमेरिकाको न्युयोर्कमा कपडा कारखानामा काम गर्ने महिलाले आफूमाथि भएको शोषण, असमानता र बढी काम गर्ने समयका विरुद्ध सडकमा आन्दोलन गरेका थिए । त्यसको दुई वर्षपछि सन् १९११ मा अन्तर्राष्ट्रिय समाजबादी समूहले डेनमार्कको कोपनहेगनमा महिलाको अधिकार र उनीहरुको आन्दोलनको समर्थनमा सम्मेलनको आयोजना गरे, जसमा १७ देशका एकसय जना महिलाको सहभागिता थियो । सन् १९११ मा पहिलोपटक, अस्ट्रिया, डेनमार्क, जर्मेनी, स्विट्जरल्यान्ड आदि देशमा महिला दिवस मनाइयो । त्यसपछि विश्वका विभिन्न देशमा अभियानको रुपमा महिला दिवस मनाउन थालिएको हो । नेपालको संविधान २०७२ ले सबै निकायमा ३३ प्रतिशत महिला आरक्षणको व्यवस्था गरेको छ । त्यस अनुसार राष्ट्रपति, सभामुखमा महिलाले नै नेतृत्व गरेका छन् ।