खोटाङ, २७ फागुन । जिल्लाको पश्चिमी गाविस धितुङ–८ स्थित बुढाथोकी गाउँमा भएको आगलागीमा तीस लाख बढीको क्षति भएको छ । आगलागीमापरि छवटा घर तथा घरमा भएका सामाग्री जलेर नष्ट हुँदा तीस लाख बढीको क्षति भएको हो ।

आगलागीमापरि स्थानीय रत्नबहादुर बुढाथोकी, सञ्जय बुढाथोकी, डम्बरबहादुर बुढाथोकी, हस्तबहादुर बुढाथोकी, रामकुमार बुढाथोकी र नवराज बुढाथोकीको घर तथा घरमा भएका सम्पूर्ण सामाग्री जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरीक्षक सरोज राईले जानकारी दिनुभयो । राईका अनुसार आगलागीमापरि रत्नबहादुरको पाँच लाख ७० हजार, सञ्जयको सात लाख ४२ हजार, डम्बरबहादुरको पाँच लाख ७६ हजार ५००, हस्तबहादुरको पाँच लाख ७३ हजार बराबरको क्षति भएको छ ।


रामकुमार र नवराज जिल्ला बाहिर रहेकाले उनीहरुको क्षतिको बिबरण लिन बाँकी रहेको राईको भनाइ छ । “चार घरको मात्र चौबीस लाख ६१ हजार ५०० क्षति भएको छ ।” उहाँले भन्नुभयो, “रामकुमार र नवराजको पनि पूर्ण क्षति भएकाले तीस लाख नाघ्ने अनुमान गरिएको छ ।”

रत्नबहादुरको घरबाट मङ्गलबार बेलुका सुरु भएको आगो बुधबार बिहान मात्र नियन्त्रणमा आएको स्थानीय गणेश कार्कीले जानकारी दिनुभयो । “रत्नबहादुरको छोराछोरीले खाना पकाउँदै गर्दा हावाले उडाएको आगो घरमा सल्किएको रहेछ ।” उहाँले भन्नुभयो, “रत्नबहादुरको घरबाट सुरु भएको आगोले पुरै गाउँ सखाप पा¥यो ।”

बुढाथोकी गाउँमा लागेको आगो नजिकमा पानी नभएका कारण नियन्त्रणमा लिन नसकिएको स्थानीयले बताएका छन् । बेलुका करिब छ बजेतिर सुरु भएको आगो बुधबार बिहान पाँच बजेतिर आफै निभेको जनाइएको छ ।

आगलागीबाट घर तथा घरमा भएका सामाग्री जलेर नष्ट भएपछि बुढाथोकी परिवार छिमेकीकामा आश्रय लिएर बसिरहेका प्रहरीले जनाएको छ । उनीहरुका लागि हालसम्म कुनै पक्षबाट पनि राहत उपलब्ध गराइएको छैन ।