खोटाङ, ३० फागुन । बाक्सिलामा सञ्चालित निःशुल्क आँखा शिविरमा ७० जनाको शल्यक्रिया गरिएको छ । जिल्लाको उत्तरी क्षेत्रमा बसोवास गर्ने सर्वसाधारणलाई लक्षित गरेर सञ्चालन गरिएको दुई दिने शिविरमा ७० जना जटिल किसिमका आँखा रोगीको शल्यक्रिया गरिएको हो ।

चौधरी आँखा अस्पताल लाहानको सहयोगमा सञ्चालित शिविरमा ४२० जना आँखा रोगीको उपचार गरिएको नेत्र ज्योति सङ्घ खोटाङका सचिव ईन्द्र कसजुले बताउनुभयो । शिविरमा सगरमाथा आँखा अस्पताल लाहानका शल्य चिकित्सक डा. नटवर सिंको नेतृत्वमा १० जना स्वाथ्यकर्मीे खटिएको कसजुले जानकारी दिनुभयो ।

स्वास्थ्यचौकी बाक्सिलामा शनिबार सम्पन्न भएको शिविर स्वास्थ्य सहयोग समिति बाक्सिलाको व्यवस्थापनमा सम्पन्न भएको हो । सचिव कसजुका अनुसार चैत १ र २ गते सदरमुकाम दिक्तेलमा पनि निःशुल्क आँखा शिविर सञ्चालन गरिने तयारी गरिएको छ ।