खोटाङ, चैत्र । खोटाङको २३ औँ जिल्ला परिषदमा एमाले जिल्ला उपाध्यक्ष राम दंगालले जिल्लाका दलबीचको एकता मुलुकमै नमूना भएको दाबी गरिरहेका थिए । ‘यो मुलुकमा कहीँ दलबीचमा एकता छ भने खोटाङमा छ,’ बिहिबार जिबिसको समिक्षालय हलमा आयोजित परिषदमा दंगालको दाबी थियो, ‘यस्तो सहकार्य अन्य ठाउँमा छैन ।’ 
दंगालले जिल्लाको दलबीचको सहकार्यलाई मुलुककै नमूना दाबी गरिरहँदा सोही मञ्चबाट बिशेष अतिथिकारुपमा उभिएका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्काको भनाईले भने त्यसको खण्डन गरिरहेको थियो । ‘कृपया कोही पनि नरिसाउनु होला,’ प्रजिअ खड्काले भन्नुभयो, ‘मुखले एकताको कुरा गरेपनि व्यवहारमा देखिएको छैन, देखिएन ।’ उपाध्यक्ष दंगाल र प्रजिअ खड्का दुबैको भनाईले पनि जिल्लाका दलबीचको अशली सम्बन्ध र सहकार्य स्पष्ट पार्छ । त्यही भएर परस्पर बाझिएका दुबै भाषण सुनेर कार्यक्रममा सहभागीको हाँसो छुटेको थियो ।

जिल्लाकै दलबीच प्रमुख अतिथि बिवाद भएका कारण संघीय मामिला तथा स्थानीय बिकास सहायक मन्त्री बिराजबहादुर बिष्टलाई निम्त्याइएको मञ्चबाट बोलिएका दुबै बक्ताको भनाईले हाँसो उठ्नु अस्वभाबिक थिएन । स्थानीय रुपाकोट रेडियोबाट सो जिल्ला परिषद भाषणको प्रत्यक्ष प्रशारण सुनिरेहका श्रोता समेत खित्का छोडेर हाँसे ।

जिल्लामा प्रमुख अतिथि बिवाद भएपछि परिषदमा बोलाइएका संघीय मामिला तथा स्थानीय बिकास सहायक मन्त्री बिराजबहादुर बिष्ट (ज्याकेटमा) । तस्बिर: हाम्रो खोटाङ डटकम

सामान्यतः एमाले उपाध्यक्ष दंगालको भाषणमा भनिए अनुशार जिल्लाको दलबीचको एकता र सहकार्य देखावटीरुपमा राम्रै छ । बिकास निर्माण, योजना बाँडफाँड लगायतका विषयमा जिल्लाका दलबीचमा खासै मतभेद देखिन्नन् । अन्यत्रबाट आउने कतिपयले जिल्लाका दलको सहकार्यलाई नमूनाकैरुपमा पनि लिने गरेका छन् । प्रशंसा गर्ने गरेका छन् । तर, अधिकांश ठाउँमा सहमतीको कुरा गर्ने दलका नेताले जिल्ला परिषदमा बनाईने प्रमुख अतिथिका बिषयमा भने ‘लज्जास्पद’ बिवाद गर्दैआएका छन् । एकले अर्कोलाई ‘नगन्ने’ उनीहरुकै शैलीका कारण जिल्ला बिकास समितिले बिगत तीन वर्ष यता अन्यत्रबाट फरक–फरक व्यक्तीलाई ल्याएर परिषद सञ्चालन गर्दैआएको छ । अनावश्यक खर्च छुट्याएर यो झन्झट बेहोर्न जिबिस बाध्य छ ।

दलको प्रमुख अतिथि बिवादका कारण जिल्लाको बार्षिक लाखौँ रकम प्रमुख अतिथि बोलाउन र पठाउनमै खर्च हुने गरेको जिबिस श्रोतले जनाएको छ । दलबीचको प्रमुख अतिथि बिवादका कारण जिबिसले यसपल्ट संघीय मामिला तथा स्थानीय बिकास सहायक मन्त्री बिराजबहादुर बिष्टलाई ल्याएर प्रमुख अतिथि बनाएर परिषद सकेको छ । बिष्ट गाडीमा पिए, गार्ड तथा शुभेच्छुक सहितको समुह लिएर दिक्तेल आएका थिए । बिष्टसँगै सिन्धुपाल्चोकका सांसद रेशम लामा पनि आएका थिए । उनीहरुलाई खाना र बासको व्यवस्था जिबिसले ग¥यो ।

दलहरुबीच प्रमुख अतिथिकालागि ‘एकले गरेको प्रस्ताव अर्कोले नमान्ने’ स्थिति बनेपछि गत वर्षको २२ औँ जिल्ला परिषदमा तत्कालिन उपप्रधान एवम् संघीय मामिला तथा स्थानीय विकास मन्त्री प्रकाशमान सिंहलाई ल्याएर प्रमुख अतिथि बनाइएको थियो, भने २०७० सालमा सम्पन्न २१ औँ जिल्ला परिषदमा तत्कालिन संघीय समाजबादी पार्टीका अध्यक्ष अशोक राई प्रमुख अतिथिकारुपमा निम्त्याईएका थिए ।

परिषदमा प्रमुख अतिथि बोलाउने, राख्ने, खुवाउने लगायतका व्यवस्थापनको जिम्मा जिबिसले बेहोर्दै आएको छ । दलबीचको बिवादका कारण प्रमुख अतिथिको शिर्षकमा लाखौँ रकम खर्च हुने गरेको जिबिस श्रोत बताउँछ । ‘प्रमुख अतिथिलाई बोलाएर मात्र भएन, नैतिकरुपमा खुवाउनु प¥यो, बासको प्रबन्ध गर्नुप¥यो,’ जिबिसका एक कर्मचारीले भने, ‘प्रमुख अतिथि बिवादले जिबिसको फजुल खर्च भइरहेको छ ।’ दलहरुको प्रमुख अतिथि बिवादका कारण बिगत तीन वर्ष यता प्रमुख अतिथिकै शिर्षकमा जिबिसको अनाश्यक रकम खर्च भइरहेको छ । प्रमुख अतिथि ल्याउने र पठाउने नाममा जिल्लालाई अनाबश्यक आर्थिक बोझ बढेको राप्रपा नेपालका जिल्ला अध्यक्ष जीवन श्रेष्ठले बताउनुभयो ।

श्रोतका अनुशार २०६५ साल यता मुलुकको ठूलो दलको हैसियतमा सोही दलका सभाषदलाई जिल्ला परिषदमा प्रमुख अतिथि बनाइने गरिएको थियो । सोही अनुशार २०६९ सालमा एमाओबादीका पुर्वसभाषद रामकुमार राईलाई सबै दलको सहमतीका आधारमा प्रमुख अतिथि बनाईए । तर, २०७० साल मंसिर ४ गतेको संबिधानसभाको दोश्रो निर्वाचनपछि सो परम्परा तोडिएको राप्रपा नेपालका अध्यक्ष श्रेष्ठ बताउनुहुन्छ । २०७० सालमा मुलुकको ठूलो दलको हैसियतले समानुपातिक सभाषद सरस्वती बजीमयलाई प्रमुख अतिथि बनाउने वा प्रत्यक्ष सभाषद बिशाल भट्टराईलाई बनाउने भन्ने बिषयमा दलहरु बिभाजित बने ।

प्रमुख अतिथिका बिषयलाई लिएर एकातिर फर्केको कांग्रेस, एमाओबादी, संघीय समाजबादी लगायतका दल तथा अर्कातिर फर्केको एमाले हालसम्म एक ठाउँमा उभिन सकेका छैनन् । उनीहरु एक ठाउँमा आउन नसक्दा तीन वर्ष यता प्रमुख अतिथिकै शिर्षकमा अनावश्यक रकम खर्च भइरहेको छ ।