चैत्र ३ । खोटाङको उत्तरी सिमा र भोजपुरको उत्तरी पश्चिमी सिमावर्ती श्रेत्र (साम्सुधाप तथा मयुर मेरुङ जाने बाटोस्थिथ पाटी भनिने ठाउँ) को जंगल क्षेत्रमा सोमबार (१ चैत्र) एक शव फेला परेको छ । मृत्यु वा हत्या भएको लामो समय भएकाले शव केटाको हो वा केटीको भन्ने समेते चिन्न नसकिने अवस्थामा छ । 

मानव कङ्काल मात्रै देखिएको उक्त शवको कुनै पहिचान हुन नसकेको र पोष्टमार्टमका लागि पनि लैजान नसकिने अवस्था नदेखिए पछि स्थानीय र प्रहरीको सल्लाहमा सोही ठाउँमा माटोमुनि दबाइएको छ ।

मृत्यु कि हत्या

लामो समय भएकाले कङ्काल मात्रै पाइएको छ । तर कपडा भने सँगै हुनुपर्नेमा नपाइएकाले हत्या हुनसक्ने धेरैको अनुमान छ । कङ्काल वरपर पनि कुनै कपडा छैन । केहीले त महिला हुनसक्ने र बलात्कारपछि हत्या हुनसक्ने अनुमान समेत गरे तर कपाल महिलाको जस्तो लामो नभएकाले पुरुष भएको अनुमान गरिएको छ । 
यसैगरी, जंगलको जुन बाटो हो त्यो भन्दा निक्कै अन्यत्र नै शव भेटिएकाले धेरैले हत्या गरिएको हुनसक्ने अनुमान गरेका छन् । 
को हुन सक्ला ?
शवको पहिचान नै गर्न नसकिने अवस्था भएकाले को के भन्ने खुल्न सकेको छैन । शव फेला परेको ठाउँ दुई जिल्लाको सिमावर्ती क्षेत्र भएपनि खोटाङको च्यानडाँडा गाविसस्थित वडा १ नम्बर सेखुवाको भुभागमा शव फेला परेको थियो । खर्क (खुल्ला चरण क्षेत्र) मा गाईवस्तु हेर्न जाने क्रममा एक व्यक्तिले शव देखेका थिए ।
घटनास्थल पुग्न सेखुवाबाट डेढ घण्टा उकालो हिड्नुपर्छ । सो ठाउँमा कमै मानिसको आवतजावत मात्रै हुने गर्दछ । च्यानडाँडा, निर्मलीडाँडा, दिल्पा, काङकाङ, रुम्ला, माथेका उभोखोला आदि ठाउँहरुका बासिन्दा त्यो बाटो भएर कमै थोरै मात्रामा हिडडुल गर्ने गर्छन् । शव फेला परेपछि नजिकका गाउँ कसैले पनि आफूहरुले चिनेजानेको व्यक्ति हराएको थाहा नपाएको बताएका छन् ।
पत्तो लाग्न नसक्ने अवस्था
शवलाई दबाई सकेको र अहिलेसम्म कतै कोही हराएको भन्ने नभएकाले शवको पत्ता लाग्न नसक्ने देखिएको छ । घटनास्थल वरिपरिका गाउँमा कोही नहराए पनि ति गाउँमा जाने दुई जिल्लाका अन्य कोहीको पनि हत्या हुन सक्ने अनुमान गरिएको छ । कोही हराएको पाएमा प्रहरीलाई खबर गर्दा भने पत्ता लाग्न सक्ने अनुमान गरिएको छ । कसैले आफ्नो आफन्त हराएमा डिएनए परीक्षणका लागि सहज होस् भनेर प्रहरीले शवलाई दबाएर राखेको छ । लगभग डेढ तथा दुई महिनामा सो घटना भएको अनुमान गरिएको छ भने कसैको आफन्त सम्पर्क बिहीन भएको भए नजिकको प्रहरी कार्यालयमा खबर गर्न सकिने छ ।