खोटाङ, ९ चैत्र । सरसफाई तथा स्वच्छता प्रबद्र्धनका क्षेत्रमा उत्कृष्ट स्थान प्राप्त गरेका खोटाङका उत्कृष्ट पाँच विद्यालय पुरस्कृत भएका छन् ।
विद्यालय सरसफाई स्वच्छता प्रबद्र्धनका क्षेत्रमा उल्लेखनीय काम गरेकामा कालिका माबि नेर्पा–२, जनता निमाबि नेर्पा–८, जालपा माबि नुनथला–४, सरस्वती उच्च माबि दिक्तेल–४ र कालिका माबि खार्मी–७ लाई सरसफाई पुरस्कार प्रदान गरिएको हो । सरसफाईका क्षेत्रमा उत्कृष्ट बनेकामा बिश्व पानी दिबसको अवसरमा मंगलबार होली खेल्दै बिद्यालयलाई पुरस्कार प्रदान गरिएको हो ।
प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद खड्का, जिल्ला शिक्षा अधिकारी केशव दाहाल लगायतले कालिका माबिलाई १२ हजार ४२०, जनता निमाबिलाई ११ हजार ९२०, जालपा माबिलाई ११ हजार ४२०, सरस्वती उच्च माबिलाई १० हजार ९२० र कालिका माबिलाई १० हजार ४२० रुपैयाँकासाथमा प्रशंसापत्र प्रदान गरेका छन् । कार्यक्रममा अतिथि तथा सहभागीबीच होली खेलिएको थियो ।
सन् २०१५ अप्रिलदेखि २०१६ मार्चसम्म सञ्चालित ‘विद्यालय सरसफाई स्वच्छता प्रबद्र्धनकालागि नागरिक आवाज’ कार्यक्रम सञ्चालन भइरहेका बिद्यालयमध्येबाट उत्कृष्ट छनौट गरी पुरस्कृत गरिएको खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालका अध्यक्ष धनप्रसाद गिरीले बताउनुभयाे । महासंघले ३० बिद्यालयमा नागरिक आवाज कार्यक्रम सञ्चालन गर्दैआएको छ । कार्यक्रममा स्वच्छ पानीको महत्व, संरक्षणका बिषयमा अन्तरक्रीया गरिएको छ ।