खोटाङ, २१ चैत्र । खोटाङको सडक तथा पुल निर्माणमा ढिलाई भएको भन्दै कांग्रेस दिक्तेल नगर समितिले आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । ठेकेदार र कर्मचारीकै हेलचक्र्याँईका कारण खोटाङ र ओखलढुंगाको जयरामस्थित दुधकोसीको मोटरेबल पुल, दिक्तेल–हलेसी सडक पिच, खोटाङ र उदयपुरको बिचमापर्ने सुनकोसीस्थित फोक्सिङटार र साप्सुखोलाको रेग्मीटार पुल लगायतका ठूला योजनाको काममा ढिलाई भएको भन्दै कांग्रेस नगर समितिले संघर्षका कार्यक्रम घोषणा गरेका हुन् ।

पुल तथा सडकको काममा भइरहेको ढिलाई, ठेकेदारको मनोमानी लगायतका विषयमा भौतिक पुर्वाधार तथा यातायात मन्त्री, जिल्लाका सांसद सरस्वति बजिमय, पाँचकर्ण राई, बिशाल भट्टराई र ठेकेदारबाट चैत्र–१५ गतेभित्रमा जवाफ मागिएपनि जवाफ नआएकाले आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुनुपरेको कांग्रेस दिक्तेल नगर सभापति दुर्गाप्रसाद घिमिरेले बताउनुभयो ।

पुल तथा सडक निर्माणमा भइरहेको ढिलाईका बिरोधमा आगामी चैत्र २४ गते बुधबार सदरमुकाममा बिरोध ¥याली निकालिने र प्रशासनमा एक घण्टा धर्ना दिईने आईतबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । ढिलासुस्ती गर्ने ठेकेदारमाथि कारबाही तथा कामलाई तिब्रता प्रदान गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराएको केही समयपछि उनीहरुले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका हुन् ।