
खोटाङ, चैत्र २४ । स्थानीय शान्ति समिति खोटाङले जयराम र फोक्सिङटारको पुल निर्माणमा भएको ढिलाईका बिरुद्ध धर्नामा बसिरहेका टोलीमाथि भएको प्रहरी हस्तक्षेपको निन्दा गरेको छ ।
मध्यपहाडी लोकमार्गमा पर्ने खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामस्थित दुधकोसीको पुल निर्माणको गतिलाई तिब्रता प्रदान गर्न तथा खोटाङ र उदयपुरको फोक्सिङ्टारस्थित सुनकोसीको पक्की पुल निर्माणको काम तत्काल सुरु गर्न दवाव दिनकालागि मंगलबार सडक बिभागको ललितपुरस्थित कार्यालय घेराउमा संलग्न सांसद लगायतको टोलीमाथि प्रहरी हस्तक्षेप भएको भन्दै शान्ति समितिले खेद प्रकट गरेको हो ।
समितिको बुधबार बसेको बैठकले बिकास माग्दा गरिएको प्रशासनको हस्तक्षेपले समग्र ‘खोटाङ्गेको अपमान गरेको’ ठहर गरेको छ । लामो समय बित्दा समेत निर्माण हुन नसकेको जयरामघाट र फोक्सिङटारको पुल निर्माणका सवालमा पटक–पटक कुरा उठाउँदा पनि राज्यले बेवास्ता गरेपछि शान्तिपूर्ण धर्नामा बसेका सांसद, नेता तथा कार्यकर्तामाथि निन्दनीय व्यवहार गरिएको स्थानीय शान्ति समितिका संयोजक श्यामराज राईले बताए । शान्तिपूर्णरुपमा चित्त नबुझेको माग राख्ने र आन्दोलन गर्न पाउने नागरिक हकमाथि प्रशासनको नांगो हस्तक्षेप भएको बैठकको निष्कर्ष छ ।
शान्ति समितिले पनि आवाज उठाउने
जिल्लाको बिकास निर्माणमा भइरहेको ढिलासुस्तीका बिरुद्ध स्थानीय शान्ति समितिले पनि थप शसक्त आवाज उठाउने निर्णय गरेको छ । सबै दल र सबै पक्षलाई समेटेर शान्ति समितिले काठ्माण्डौंसम्म जाने र पुल, सडक, पर्यटन भूकम्पको पुःर्ननिर्माणका बिषयमा सम्बन्धित मन्त्रालयमा पुगेर आवाज उठाउने निर्णय गरेको हो । बिकास निर्माणको गतिलाई तिब्रता प्रदान गर्नकालागि दवाब दिन चैत्र २६ गते समितिको नेतृत्वमा एक टोली राजधानी जाने संयोजक राईले जाकनारी दिए । पुल, सडक लगायतका ढिलासुस्तीका बिषयमा हुने हरेक आन्दोलन र बललाई समितिले एकठाउँमा ल्याएर बलशाली बनाउन संयोजन गर्ने छ ।