खोटाङ, चैत्र २४ । खोटाङको पुल, सडक लगायतका बिकास निर्माणमा भइरहेको ढिलासुस्तीका बिरुद्ध नेपाली कांग्रेस दिक्तेल नगर समितिले जिल्ला प्रशासन कार्यालयमा धर्ना दिएको छ ।
खोटाङ र ओखलढुंगाको सिमानामा पर्ने जयरामस्थित दुधकोसी तथा खोटाङ र उदयपुरको फोक्सिङ्टारस्थित सुनकोसीको मोटरेबल पुल निर्माण, खोटाङकै रेग्मीटारस्थित साप्सु खोलाको पुल निर्माण र दिक्तेल–हलेसी पिचका काममा भइरहेको ढिलाईका बिरुद्ध नगर समितिले बुधबार प्रशासन अगाडि एक घण्टा धर्ना दिएको हो ।
तीन वटा पुल निर्माण तथा सडक पिचका काम चाँडोभन्दा चाँडो पूरा गर्नकालागि दवाब दिन नगर समितिले सदरमुकाम दिक्तेलमा बिरोध ¥याली निकालेपछि प्रशासन अगाडि पुगेर धर्ना दिएको हो । पुल तथा सडकको काममा आलटाल गर्दै सम्झौता मिति नाघेको वर्षौँसम्म पनि काम नसक्ने ठेकेदार र उनीहरुलाई संरक्षण गर्ने कर्मचारी बिरुद्ध एमाले सम्पर्क मञ्चले मंगलबार सडक बिभाग घेराउ गरेका थिए ।
जिल्लाको समग्र बिकाससँग जोडिएको पुल तथा सडक निर्माणमा ठेकेदारको ढिलासुस्तीले हद नाघेपछि जिल्लाबासी बिरोधमा उत्रन बाध्य बनेको कांग्रेस दिक्तेल नगर समितिका सभापति दुर्गाबहादुर घिमिरेले बताए । सम्झौता मिति नाघेको ४ वर्ष बितिसक्दा समेत दुधकोसीको पुल निर्माणको काम पूरा हुन सकेको छैन । रेग्मीटारको पुल समेत लामो समयसम्म पूरा हुन सकेको छैन । यस्तै, टेण्डर भएर काम थाल्ने सम्झौता गरिएको २ वर्ष बित्दा पनि सुनकोसीको फोक्सिङटारस्थित पुलको काम सुरु नगरिएको, हलेसी–दिक्तेल सडक पिचका काम पनि सन्तोषजनक नभएको जिल्लाबासीको गुनासो छ ।