खोटाङ, २५ चैत । जिल्लाका ग्याँस व्यापारीहरुले उपभोक्ताबाट बढी मुल्य लिने गरेको पाइएको छ । जिल्लाका व्यपारीहरुले एक सिलिन्डर ग्याँसमा उपभोक्ताबाट २०० रुपैयाँ बढी मुल्य लिने गरेको पाइएको हो ।

जनकपुरबाट १४०० मा खरिद गरेर ल्याएको एक सिलिन्डर ग्याँस खोटाङमा दुई हजारमा खरिद तथा बिक्री हुने गरेको छ । जिल्लामा नोवेल, रिजाल र कन्काईगरि तीन प्रकारका ग्याँसको डिलर छ ।


तीनवटै डिलरले जिल्लाका विभिन्न ठाउँमा सब–डिलर (बिक्री केन्द्र) खोलेर बिक्री गर्ने गरेका छन् । मुख्य डिलरले सब–डिलरलाई १८०० मा दिने गरेको र उनीहरुले दुई हजारमा बिक्री गर्ने गरेका छन् ।

सब–डिलरसँग मिलेर मुख्य बिक्रेताले पनि दुई हजारमै बिक्री गर्ने गरेको उपभोक्ताले बताएका छन् । “१८०० मा बिक्री गर्दा पनि फाइदा नै हुने रहेछ ।” एक उपभोक्ताले भने, “सब–डिलरले पाउने भाउमा हामीले पनि पाउनुप¥यो ।” 

ढुवानीमा समस्या हुने र लोडअनलोडमा बढी खर्च हुने भएकाले दुई हजारमा बिक्री गर्नुपरेको नावेल कम्पनीका बिक्रेता होमराज थापाले बताउनुभयो । “ग्याँस ढुवानीमा धेरै समस्याहरु छन् ।” उहाँले भन्नुभयो, “विभिन्न समस्याका बाबजुध उपभोक्ताको समस्यालाई मध्यनजर गरेर ग्याँस भित्र्याउने गरिएको छ ।”

ग्याँस ढुवानीमा जनकपुरबाट उदयपुरको कटारीसम्म कम्पनीले नै भाडा तिर्ने गरेको कम्पनीका भैरवभक्त क्षेत्रीले बताउनुभयो । गत वर्षहरुमा सबै प्रकारका ग्याँस १७५० देखि १८०० सम्ममा खरिद तथा बिक्री हुने गरेको थियो ।

जिल्लामा बिक्री भइरहेको ग्याँसको मुल्य बढी नै भएको उद्योग वाणिज्य सङ्घ खोटाङका अध्यक्ष राजेन्द्र लयालुले बताउनुभयो । “व्यापारको नाममा उपभोक्तालाई ठग्न पाइन्न ।” उहाँले भन्नुभयो, “यस विषयमा व्यापारीहरुसँग बसेर छलफल गर्नेछु ।”

जिल्लामा यस वर्ष विभिन्न बहानामा प्रति सिलिन्डर तीन हजारसम्ममा बिक्री गर्ने गरेको पाइएको छ । जिल्लामा प्रयोग हुँदै आएको नोवेल ग्याँस प्रति सिलिन्डर डेढ किलोसम्म कम तौल भएको पाइएको छ ।

जिल्लामा बिक्री हुने कतिपय सिलिन्डर लिक भइरहने गरेको समेत पाइएको छ । आफूले खरिद गरेर ल्याएको सिलिन्डर लिक भइरहेकाले फिर्ता गर्नुपर्ने समस्या रहेको उपभोक्ताहरुको भनाइ छ ।

यस विषयमा तत्काल व्यवसायीसँग छलफल गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताउनुभयो । “म भर्खरै सरुवा भएर आएको छु ।” उहाँले भन्नुभयो, “सबै कुरा थाहा नभएकाले बुझेर कारबाहीको प्रक्रिया अगाडि बढाउनेछु ।”