खोटाङ, चैत्र २९ । खोटाङको सुक्खाग्रस्त क्षेत्रका ७ गाबिसमा नदीको पानी लिफ्टीङ गर्नका लागि डिटेल सर्भे (डिपिआर)को काम सुरु गरिएको छ । धार्मिक तथा पर्यटकीयस्थल हलेसी क्षेत्रमा पर्ने महादेबस्थान, दुर्छिम, मंगलटार, बडहरे, च्यास्मीटार, डिकुवा र बाहुनीडाँडाका करिब २० हजार उपभोक्तालाई लक्षीत गर्दै दुधकोसीको पानीलाई लिफ्ट गरेर गाउँमा निकाल्नकालागि सोमबारदेखि डिटेल सर्भेका काम सुरु गरिएको हो । 
महादेबस्थान, दुर्छिम, मंगलटार र बडहरेकालागि दुधकोसीको महादेवबेँसी तथा च्यास्मीटार, डिकुवा र बडहरेका उपभोक्ताकालागि दुधकोसीकै पिप्लेबाट पम्पिङ प्रविधिमार्फत अग्लो डाँडामा निकालिने उपभोक्ता समितिका अध्यक्ष इवन राईले जानकारी दिए । विद्युतमार्फत सल्लेको महादेबबेँसीबाट तानिएको नदीको पानीलाई १७५८ मिटरको उचाईमा पर्ने हलेसीको काभ्रेमा निर्माण गरिने मूख्य बितरण ट्यांकीमा जम्मा गरेर वितरण गरिने छन् । भुम्जुडाँडामा निर्माण गरिने ट्यांकीबाट च्यास्मीटार, डिकुवा र बडहरेका उपभोक्तामाझ पानी पु¥याइने अध्यक्ष इवन राईले जानकारी दिए । पानीको श्रोत नभएको, भएका श्रोत सुक्दै गएको र अन्यत्रबाट ल्याउनकालागि सम्भावना कम भएका कारण सुक्खाग्रस्त क्षेत्रमा नदीकै पानी निकाल्ने अन्तिम तयारी गरिएको हो । 
उत्तरी क्षेत्रमा पर्ने तापखोला, भांगु खोला, चिमचिमा खोला, नाखाम खोलाबाट सुक्खाग्रस्त क्षेत्रका गाबिसमा पानी लैजान सकिने सम्भावना भएपनि मुहान पाउन नसकिएको समितिले जनाएको छ ।