गत चैत २८ गतेबाट लागेको डढेलो अझै नियन्त्रण बाहिर रहेको स्थानीयले बताएका छन् । डढेलो लागेको क्षेत्रमा हावा चलिरहेकाले नियन्त्रण गर्न नसकिएको स्थानीय वन उपभोक्ता समितिले जनाएको छ ।
जङ्गलमा लागेको डढेलोले करोडौंको क्षति भइसकेको अलैंची दिल्पु सामुदायिक वन उपभोक्ता समितिका सचिव हुकुम राईले जानकारी दिनुभयो । “डढेलोले जडीबुटी, रुख तथा बोटबिरुवा, जङ्गली जनावर लगायत जलेर नष्ट भएको छ ।” उहाँले भन्नुभयो, “नियन्त्रण गर्न सबैजना लागी परेका छौं, तर नियन्त्रण गर्न सक्ने सम्भावना छैन ।”
जङ्गलमा लागेको डढेलो गाउँमा आउन लागेकाले घरघरमा पानी लिएर बस्ने गरिएको बाराहापोखरीकी कल्पना मगरले जानकारी दिनुभयो । “गाउँ वरिपरी फैलिएको जङ्गलमा आगो दन्कीरहेको छ ।” उहाँले भन्नुभयो, “निभाउन सक्ने सम्भावना छैन, त्यसैले घर जोगाउन पानी लिएर बसेका छौं ।”
डढेलो लगाउने व्यक्तिको पहिचान हुन नसकेको वन उपभोक्ता समितिले जनाएको छ । वन क्षेत्रमा वस्तुभाउ चराउने तथा घाँस काट्ने व्यक्तिले जानाजान आगो लगाउने गरेको स्रोतले जनाएको छ ।
हिउँदमा झरेका पापतिङ्गरले वर्षामा घाँस पलाउन नदिने भएपछि पातपतिङ्गर डढाउने उद्देश्यले वन क्षेत्रमा आगो लगाउने गरेको पाइएको छ । जङ्गलमा लगाइने आगोले पार्ने दीर्घकालिन असरका बारेमा उपभोक्तालाई जानकारी गराउन आवश्यक छ ।
जङ्गलमा आगो लगाउन नियन्त्रण गर्न उपभोक्ता समितिले कडाइ गर्नुपर्ने जिल्ला वन कार्यालय खोटाङका वन अधिकृत लोकराज नेपालले बताउनुभयो । “हामीले सबैजसो वन समुदायमा हस्तान्तरण गरेका छौं ।” उहाँले भन्नुभयो, “त्यसैले यसप्रति उपभोक्ता समितिले आ–आफ्नो क्षेत्रबाट कडाइ गर्नुपर्छ ।”
जिल्लामा यस वर्ष मात्रै दर्जन बढी सामुदायिक वनमा डढेलो लागेको जिल्ला वन कार्यालयले जनाएको छ । सामुदायिक वनमा लागेको डढेलोले अरबौंको क्षति भइसकेको पाइएको जनाइएको छ ।