रामधन राई/खोटाङ, ५ बैशाख । खोटाङका दक्षिणी क्षेत्रमा बैदेशिक रोजगार सम्बन्धी सचेतनामुलक सडक नाटक‘ अरबको ब्याथा’ प्रदर्शन भईरहेको छ । जिल्लाका दक्षिणी १५ गाबिसमा जिल्लामा स्थापित भर्‍याङ नाट्य समुहका कलाकारहरुद्वारा नाटक ‘अरबको ब्याथा’ प्रदर्शन भईरहेको हो ।

बालसेवा समाज नेपाल नेर्पा, खोटाङद्वारा सञ्चालित सुरक्षित आप्रवासन परियोजना(सामी) को बिद्यालय तथा आमसञ्चार कार्यक्रमअन्र्तगत सचेतनामुलक सडक नाटक प्रदर्शन भईरहेको जनाईएको छ । सडक नाटक दक्षिणी १५ गाबिस तथा दिक्तेल नगरपालिकाका बिभिन्न बिद्यालय तथा स्थानमा प्रदर्शन गरिरहेको परियोजनाका कार्यक्रम संयोजक लोकमणी रिजालले जानकारी दिनुभयो । संयोजक रिजालका अनुसार सडक नाटकका माध्यमबाट सुचना तथा सन्देश प्रभाबकारी ढंगले दिन सकिने हुनाले यो बिधि अपनाईएको हो ।


दक्षिणी गाबिसहरुमा रेडियो पत्रपत्रिकालगायतबाट सुचना तथा सन्देशको पहुँच पुर्‍याउन नसकिने हुनाले सडक नाटकलाई सो क्षेत्रमा पुर्‍याईएको हो । बैदेशिक रोजगारीका क्रममा पुरा गर्नुपर्ने प्रक्रिया, अपनाउनुपर्ने सजकता, सिक्नुपर्ने तथा लिनुपर्ने सीप तालिम, बुझ्नुपर्ने कानुन तथा भाषा लगायतका बिषय नाटकमा उठान हुने जनाईएको छ । 
अरबमा हुन सक्ने दुर्घटना, पाईने दुःखलगायत गाउँ र अरबको दृश्य देखाई सीप, तालिम, सुचना लिएर जाँदा र नलिई जाँदा, भाषा सिकेर जाँदा र नसिकी जाँदा, कागजपत्रका प्रतिलिपी बिल–भपाईलगायतका प्रक्रिया पुर्‍याएर जाँदा र नपुर्‍याई जाँदाका फाईदा र बेफाईदाका पक्षहरु नाटकमा उतारिएको छ । 

बैदेशिक रोजगारीमा जान तयार ब्यक्ति तथा परिवारलाई सुचना र सन्देश दिने उदेश्यले गत चैत्र २९ गतेदेखि शुरु गरिएको नाटक १५ दिनसम्म प्रर्दशन गरिने आयोजकले जनाएका छन् ।