नयाँ वर्षको अवशरमा आयोजित गोल्डकपमा जिल्ला तथा जिल्लाबाहिरका गरी १७ टिमले प्रतिष्पर्धा गरिरहेको आयोजक बाक्सिला फुटबल क्लवका अध्यक्ष समीर राईले बताउनुभयो । बुईपा इलाभेन स्पोर्टस् क्लव र खार्मी गाबिसबीच भएको उदघाटन खेलमा बुईपा इलाभेन स्पोर्टस् क्लव बिजयी भएको छ । बुईपा इलाभेन स्पोर्टस क्लवले शुन्यका बिरुद्ध एक गोल गर्दै प्रतियोगीतामा बिजयी सुरुवात गरेको हो ।
जिल्लामा फुटबल खेलको व्यवसायीक बिकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनकालागि आयोजना हुँदैआएको ‘बाक्सिला गोल्डकप’ हप्ता दिनसम्म सञ्चालन हुने छ । २०६१ सालदेखि निरन्तर ८ औं संस्करण गराएको क्लबले तीन वर्षको ग्यापमा गोल्डकपलाई निरन्तरता दिएको हो ।
प्रतियोगीताका बिजेता टिमले एक लाख ५० हजार मूल्यको कप, नगद पुरस्कार, मेडल र प्रमाणपत्र हात पार्नेछन् । उपबिजेता सहित सेमीफाईनलिस्ट टिमलाई नगद, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले जानकारी दिए । ८ औं संस्करणका बिजेता र उपबिजेतालाई क्लवले क्रमशः २० हजार र १५ हजार प्रदान गरेको थियो ।
चन्दाकैभरमा प्रतियोगीता सञ्चालन गर्दै आएको क्लवले यसपल्ट पनि स्वदेश तथा बिदेशमा रहेका स्थानीयसँग सहयोग मागेर प्रतियोगीता गरेको हो । ‘खेलकुदलाई हेय नजरले हेर्ने गरिन्छ, न राज्यको सहयोग छ न त अरुकै,’ अध्यक्ष राईले भने, ‘फुटबल खेलाडीको प्रोत्साहन र अवशर सिर्जना गरेर यसको व्यवसायीक बिकासकालागि दुःखकासाथ प्रतियोगीतालाई निरन्तरता दिइएको हो ।’ रनिङ कपलाई हरेक वर्ष सञ्चालन गर्नुपर्ने प्रावधान भएपनि दिक्तेल गाबिसले लगातार तीन पटकसम्म कप पच गरेका कारण २०६९ साल यता प्रतियोगीता सञ्चालन हुन सकेको थिएन । लगातार प्रतियोगीता सञ्चालन गर्ने पहिचान बनाएको बाक्सिला फुटबल क्लवले जिल्लामा फुटबल प्रतियोगीताका बिजेता टिमलाई नगद पुरस्कार प्रदान गर्ने प्रचलन सुरुवात गरेको हो ।