निर्धारित समयमा दुवै टोलीबाट गोल नभएपछि ट्राइबेकरमा आठका विरुद्ध इटहरीलाई नौं गोल गर्दै बुइपाले जित हात पारेको आयोजक बाक्सिला फुटबल क्लवका अध्यक्ष समिर राईले जानकारी दिनुभयो । जितसँगै बुइपाले एक लाख ५० हजार मुल्य बराबरको गोल्डकप, नगद ६० हजार, मेडल र प्रमाणपत्र हात पारेका छन् ।
प्रतियोगिताका उपविजेता इटहरीले नगद ३५ हजार, मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ । प्रतियोगिताका सेमीफाइनलिस्ट खोटाङबजार र जालपा गाविसले नगद १५÷१५ हजारको साथमा मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रतियोगिता अवधिभरको खेलमा सर्वाधिक गोलकर्ताका रुपमा इटहरीका बसन्त मगर, उत्कृष्ट गोल रक्षकमा बुइपाका नितेष श्रेष्ठ र उत्कृष्ठ खेलाडी बुइपाकै सुनिल तामाङ घोषित भएका छन् । उनीहरुलाई जनही नगद दुई हजार ५०० को साथमा ट्रफी र मेडल प्रदान गरिएको आयोजकले जनाएको छ ।
जिल्ला तथा जिल्लाबाहिरका गरी १७ टोलीले सहभागिता जनाएको प्रतियोगितामा आजै बिहान भएको खेलमा बुइपाले जालपालाई शुन्यका विरुद्ध १ र इटहरीले खोटाबजारलाई शुन्यका विरुद्ध ३ गोलले हराउँदै फाइनलको यात्रा तय गरेको थियो । गत वैशाख–७ गतेबाट सुरु फुटबल प्रतियोगिता चट्याङका कारण एक दिनपछि सकिएको हो ।
जिल्लामा फुटबल खेलको व्यवसायिक विकास तथा फुटबल खेलाडीको प्रोत्साहन र प्रबद्र्धनका लागि आयोजना हुँदै आएको ‘बाक्सिला गोल्डकप’ गत वैशाख ७ गतेबाट सुरु भएको थियो । २०६१ सालदेखि निरन्तर ८ औं संस्करण गराएको क्लवले तीन वर्षको अन्तरालपछिछ गोल्डकपलाई निरन्तरता दिएको हो ।
गोल्डकपका लागि जिल्ला तथा जिल्ला बाहिर रहेका व्यक्तिले उपलब्ध गराएको चन्दाको भरमा प्रतियोगिता सञ्चालन गरिएको आयोजकले जनाएको छ । प्रतियोगिताका लागि बाक्सिलाका कृष्णकुमार राईले प्रथम पुरस्कारको लागि नगद ६० हजार प्रयोजन गर्नुभएको थियो ।