खोटाङ, बैसाख २१ । सुख्खा मौसममा हुने आगलागीबाट हुने धनजनको क्षतीलाई न्यूनीकरण गर्नकालागि सामुदायीक बन उपभोक्ता महासंघ खोटाङले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ ।

सुख्खा मौसममा आगलागीबाट हुने क्षतीबाट बच्नकालागि महासंघले बिशेष सावधानी अपनाउन सर्वसाधारणलाई आग्रह गरेको हो । मंगलबार बिज्ञाप्ती जारी गर्दै महासंघले आगलागीबाट धनजन र बनजंगललाई क्षती हुनबाट जोगाउनकालागि आगोजन्य बस्तुहरुलाई सावधानीपुर्वक चलाउन आग्रह गरेको छ । हिउँद याम सुरु भएसँगै जिल्लामा आगलागीबाट धनजन र जंगलको ठूलो क्षती भएको भन्दै महासंघले आफ्नो घर तथा बनक्षेत्रको वरिपरी सावधानीपुर्वक आगोजन्यबस्तु प्रयोग गर्न सचेत गराएको छ । डढेलोका कारण बनजंगल बिनास हुँदा पर्यबरणमा पुग्ने अशरले पानीको मुहान सुक्ने र जैबिक बिविधतामा ह्रास आउने भएकाले डढेलो र आगलागीका विषयमा सचेतता अपनाउन भनिएको सामुदायीक बन उपभोक्ता महासंघका अध्यक्ष राजेन्द्र राईले बताए ।

महासंघले ‘ग्राउण्ड वाटर रिजार्ज’कालागि हरेक गाबिसमा पोखरी निर्माण गर्न सामुदायीक बन उपभोक्ता समितिलाई निर्देशन दिएको छ । वर्षाको पानीलाई पोखरीमा जमाएर जमिन चार्ज गर्ने र पानीको श्रोतलाई संरक्षणकालागि हरेक गाबिसमा कम्तीमा एक÷एक वटा पोखरी निर्माण गर्न भनिएको अध्यक्ष राईले जनाए । रिचार्ज पोखरी पानीको मुहान संरक्षण गर्दै सुक्खा मौसममा पानीको उपलव्धता तथा आगोलागीका घट्ना न्यूनीकरणमा सहयोगी हुने महासंघले जनाएको छ । सुक्खाग्रस्त जिल्लाको २३ औं परिषदले समेत हरेक गाबिसमा रिचार्ज पोखरी बनाउने प्रस्ताव पारित गरिसकेको छ ।