खोटाङ, जेठ १ । ट्यूमर बढ्दा मुखै बन्द भएकी खोटाङको बाँझेच्यानडाँडा–८ की १४ वर्षीय रेबिका राईको उपचारका लागि मलेसिया, कतार र जापानमा ‘रेबिका बचाउ’ अभियान सुरु गरिएको छ ।

बढ्दै गएको मुखको ट्यूमरका कारण बोल्न, खाना खान र हाँस्नै नहुने अवस्थामा पुगेका रेबिकाको सहयोगमा मलेसियामा चिसाङ शेर्पाको पहलमा ‘रेबिका बचाउ’ अभियान सुरु गरिएको हो । उपचारकालागि हाल भारतको कलकत्ता पु¥याइएकी रेबिकाको बचाउमा मलेसिया, कतार र जापानमा ‘पिडित बालिका बचाउ’ नामक फेसबुक ग्रुप च्याट सञ्चालनमा ल्याइएको अभियान्ता शेर्पाले जानकारी दिए । रेबिकाको चौथो पटकको उपचारकालागि बैसाख–२३ गते बुधबार भारतको कलकत्तातर्फ लगिएको छ । फेसबुक अभियान सुरु गरिएको चौथो दिनमै २३ हजार ८९ रुपैयाँ संकलन भइरहेको अभियानकर्तामध्येका सर्य चामलीङले बताए । रेबिका बचाउकालागि कतारमा दोर्ची शेर्पा र जापानमा फुर्बा शेर्पाले अभियान सञ्चालन गरिरहेका छन् ।

हाल काठमाण्डौं बुढानिलकण्ठ बस्दैआएकी रेबिकाको ट्यूमरको उपचारकालागि शुभेच्छुकबाट उपचार खर्च जुट्नेक्रम जारी छ । यसअघि शुभेच्छुक श्रवण बम्जनको संयोजनमा कुबेत, अमेरिका, दक्षिण कोरिया, कतार, हङकङ, नेदरल्याण्ड, यूएइ र काण्डमाण्डौंबासी नेपालीबाट संकलन भएको ४ लाख ४८ हजार ९९२ रुपैयाँ, तेज राईको संयोजनमा संकलन भएको १ लाख ११ हजार ११५ रुपैयाँ, यूकेबासी धनकुमार राई, कल्पना राई र भोलाबिक्रम राईको पहलमा संकलन भएको ४ लाख ४९ हजार ५७० रुपैयाँ लगायतका सहयोग रकम रेबिका परिवारलाई प्राप्त भइसकेको छ ।

रेबिकाको चौथो पटकको उपचारका लागि कलकत्तातर्फ लगिएको हो । रेबिकाकोसाथमा आमा सन्ध्या र घरबेटी एलिसा कार्की कलकत्ता गएका छन् । माथिल्लो दाँत अडिने हाड र गीँजाको ट्यूमरले बढेर ठूलो आकार लिएपछि रेबिकाले कष्टपूर्ण दिन बिताइरहेकी छन् । तीन पटकसम्म अप्रेसन गर्दापनि रेबिकाको ट्यूमर ठीक नभएपछि कलकत्ता लगिएको हो । बुवा कासीनाथ रोजगारीका सिलसिलामा २६ वर्षअघि नै काठ्माण्डौं बस्न थालेका हुन् । काठ्माण्डौं बसाइकैक्रममा बिवाह गरेका उनका दुई छोरी र एक छोरा छन् । रेबीका घरकी कान्छी छोरी हुन् । रेबिका हाल बुढानिलकण्ठ हाइस्कुलमा पढ्छिन् । रोगकै कारण उनी यसपल्टको एसएलसि दिनबाट समेत बञ्चित भएकी छन् । ५ वर्षको छँदै रेबिकालाई ट्यूमर भएको पत्ता लागेको हो । नुहाएपछि मावली हजुरमाले शरीरमा तेल घस्नेक्रममा पहिलोपल्ट उनको शरीरमा भएको ट्यूमर फेला परेको हो । फैलिएको ट्यूमरलाई थोरै ठक्कर परेपनि रगत बग्ने समस्य छ ।

रेबिकाको पहिलो अप्रेशन ५ वर्षकै उमेरमा गरिएको हो । त्यस यता दुई÷दुई वर्षको फरकमा अप्रेशन गरेर ट्यूमर खुर्केर निकालिएको थियो । अप्रेसन गरेको केही वर्षसम्म रोग निको भएपनि पुःन बल्झिने गरेको छ । दैनिक मजदुरी काम गरेर परिवार धान्दैआएका उनले छोरीको उपचारमा हालसम्म १६ लाखभन्दा बढि रकम खर्च गरिसकेका छन् । काठ्माण्डौं बसाइकाक्रममा सेक्यूरिटी गार्ड, ज्यामी लगायतका काम गरेर जोगाएको पैसा उपचारमै सकिएको छ । त्यसले नपुगेर ऋणको भार समेत थपिएको छ ।
अस्पतालमा लाग्ने रकम बुझाउन आफ्नो आर्थिकस्तरले नभ्याउने भएकाले राई परिवारले शुभेच्छुक समक्ष सहयोगको याचना गरेका छन् ।