खोटाङ, जेठ १३ । खोटाङबासीले जयरामघाटस्थित दुधकोसीको अस्थायी बेलिब्रिज दुई हप्ता ढिलागरी झिक्न पुर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय डिभिजन सडक कार्यालय हर्कपुर, ओखलढुंगा समक्ष आग्रह गरेको छन् ।
जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वदलीय बैठकले जेठ–१५ गतेभित्र निकाल्ने भनिएको खोटाङ र ओखलढुङ्गाको सिमानामा पर्ने अस्थायी बेलिब्रिज जेठ मसान्तसम्म नहटाउन आग्रह गरेको हो । जिल्लाबासीलाई सहज यातायात सुबिधाको व्यवस्था उपलव्ध गराउनका लागि सडक बिभाग तथा डिभिजन कार्यालय समक्ष सोही अनुसारको निर्णयसहित आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताए । यसपल्ट गत मंसिर १३ गते बेलिब्रिज राखिएको थियो ।
जिल्लामा मध्यपहाडी लोकमार्ग अन्तरगत दिक्तेल–हलेसी पीच, विद्युत लगायतका बिकास निर्माणका लागि आवश्यक कच्चा पदार्थ तथा इन्धनको नियमित आपूर्ती, पुःन बेलिब्रिज नराखेसम्म पुग्ने दैनिक उपभोग्यबस्तु ढुवानी, जेठ २० देखि २२ गतेसम्म दिक्तेलमा सञ्चालन हुने अन्तर्राष्ट्रिय सितोरियो कराते प्रतियोगीतामा सहभागी हुने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीको आगमन लगायतका लागि बेलिब्रिजलाई केही समयपछि निकाल्न भनिएको हो । जेठ मसान्तसम्म पानीको बहावले बेलिब्रिजलाई अशर नपुग्ने भएकाले दुई हप्ता ढिला गर्न आग्रह गरिएको प्रजिअ कार्कीले जनाए । वर्षा सुरु भएसँगै नदीमा पानीको सतह बढ्न थालेको भन्दै पुर्वाञ्चल क्षेत्रीय सडक निर्देशनालय डिभिजन सडक कार्यालयले जयरामको बेलिब्रिज जेठ १५ भित्र निकाल्न ठेकेदार कम्पनीलाई जेठ ५ गते पत्राचार गरेको थियो ।
हरेक वर्ष जयरामघाटको बेलिब्रिज जेठ मसान्तभित्र हटाउने गरिएको थियो । बेलिब्रिज निकालिएपछि जिल्ला ६ महिनासम्म सिधा यातायात सम्पर्कबाट बिच्छेद हुने गरेको छ । हिउँदभर सञ्चालन हुनेगरी जडान गरिएको अस्थायी बेलिब्रीज वर्षा लागेपछि र नदीमा पानीको बहाव बढेसँगै झिकिने र पानीको बहाव घटेपछि पुनः राख्ने गरिएको छ । जिल्लाका व्यवसायीले बेलिब्रिज निकाल्नअघि ६ महिनासम्म पुग्ने उपभोग्य सामान भित्र्याउने गरेका छन् । प्रायः जेठ मसान्तमा निकालिने बेलिब्रिज पुसमा राख्ने गरिएको छ ।
तोकिएको समयमा जयरामघाटको मोटरेबल पुल बन्न नसकीरहेको अवस्थामा जयराममा अस्थायी बेलिब्रीज सञ्चालनमा ल्याइएको हो । राममा निर्माणाधिन पक्की पुल ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण समयमा सम्पन्न हुन सकेको छैन ।