खोटाङ ७ असार । खोटाङमा यसअघि संकलन गरिएका गरिब घरपरिवारको प्रारम्भिक तथ्यांकमा ‘छानबीन’का काम सुरु गरिएको छ । आर्थिक वर्ष २०६९/०७०मा संकलन गरिएको गरिब घरपरिवारको तथ्यांकमा समाबेश हुनबाट छुटेका गरिब घर परिवारलाई तथ्यांकमा समेट्न र मापदण्ड विपरितका घर परिवारलाई सूचीबाट हटाउनकालागि ‘भेरीफाइ’का काम सुरु गरिएको हो ।
यसअघि पहिचान गरिएका गरिब घरपरिवारको तथ्यांकमा भएको त्रुटी सच्याउनकालागि जिल्लाको एक नगरपालिका र ७२ गाबिसमा असार–१ गतेदेखि सार्वजनिक सुचना टाँस गरेर उजुरी आव्हान गरिएको छ । गरिब घर परिवारको सूचीमा ‘पर्नुपर्ने परिवार’ छुटेका भए समेट्न र ‘नपर्नु पर्ने परिवार’ परेका भए सच्याउनकालागि पुनरावलोकन र छानबीनका काम थालिएको जिल्ला बिकास समिति अन्तरगत गरिब घरपरिवार जिल्ला सहयोग समन्वय समितिका सुचना प्रबिधि अधिकृत प्रबीण पोखरेलले बताए ।
गुनासो सुनुवाइकालागि जिबिसमा समेत उजुरी दिन सकिने जनाइएको छ । प्राप्त उजुरीका आधारमा गुनासो सुनुवाई गर्दै गरिब घरपरिवारको तथ्यांकलाई चुस्तदुरुस्त बनाईने सुचना प्रबिधि अधिकृत पोखरेलले बताए । यसअघि संकलन गर्नेक्रममा अधुरो रहेको गरिब घरको सुचनालाई समेत यसक्रममा ‘अपडेट’ गरिने जनाइएको छ । गरिब घर परिवारको तथ्यांकमा भएका कमीकमजोरीलाई आगामी असार–२५ गतेसम्म पारदर्शी तरिकाले सच्याइने जिबिसले जनाएको छ । ‘यसक्रममा गरिबको सूचीमा पर्नुपर्ने मान्छे छुटेका रहेछन् भने समाबेस गरिन्छ, नपर्नुपर्ने मान्छे परेका रहेछन् भने हटाउने काम गरिन्छ,’ पोखरेलले भने, ‘यसअघि संकलनकाक्रममा कतिपय घरपरिवारका छुट विबरणलाई समेत यसैबेला सच्याइन्छ ।’ जिल्लामा ८ हजार ६६४ गरिब घर परिवारको पहिचान भएको छ ।
यस्तै, ५ हजार ३४ परिवारको भने तथ्यांक अधुरो रहेकाले पुःन सच्याउनुपर्ने देखिएको छ । श्रोतका अनुशार शिक्षक, कर्मचारी लगायत हुनेखानेले समेत आफ्नो परिवारलाई गरिबको सूचीमा समाबेश गरेको पाइएको छ ।
मापदण्ड अनुशार पहिचान भएका गरिब घर परिवारले सरकारबाट अति गरिब, गरिब र सिमान्त गरिब गरी तीन बर्गको परिचयपत्र प्राप्त गर्नेछन् । २०६९ साल बैसाख–२८ गतेदेखि दिक्तेल–५ का प्यारीमायाँ सर्किनीको घरबाट गरीब घरपरिवार पहिचानका लागि बिवरण संकलनका काम थालेको सहकारी तथा गरीबि निवारण मन्त्रालय र जिल्ला बिकास समितिले जेठ–२५ गतेसम्म तथ्यांक संकलन गरेको थियो । यसकालागि तालिम प्राप्त ८० जना गणक तथा ११ जना सुपरिवेक्षक खटिएका थिए । परिचयपत्र मार्फत देशको गरिबीको रेखामुनि रहेका घरपरिवारको गरिबी निवारणकालागि गरिब घरपरिवार पहिचान तथा सहयोग कार्यक्रम सुरु गरिएको हो ।
गरिब परिवारमा आश जाग्दै
गरीब घरपरिवार पहिचानको काम हुँदैगर्दा वर्षौं अघिदेखि गरिबीको पीडामा पिल्सिरहेका खोटाङका गरिब परिवारमा राज्यबाट पाउने सेवा सुबिधा साँच्चिकै आफ्नै हातमा पर्लान् भन्ने आशा जगाएको छ । गरीबकारुपमा परिचयपत्र पाएपछि बर्षभरी खान, लाउन पुग्ने र आफ्नो बालबच्चालाई राम्रो बिद्यालयमा पठन–पाठन गराउने वाताबरण बन्ने अपेक्षा छ उनीहरुको । गरीब घरपरिवार पहिचान तथा परिचयपत्र बितरणपछि प्रत्यक्ष प्राप्त हुने भनिएको सरकारको सेवा सुबिधाले सबै निम्नआर्थिक स्तरका घरपरिवारको दिन फिर्लान् भन्ने आशा पलाएको दिक्तेल–५ की भूमादेबी मुग्रातीले बताईन् ।