खोटाङ १२ असार
विकसित ठाउँको विकास निर्माणको सिको गर्नका लागि भ्रमणमा निस्किएका खोटाङका नेता, जिबिसका प्रतिनिधि लगायतको टोलीले सिक्किम, दार्जिलिङ, मिरिक लगायतको भ्रमण गरेको छ । 
बिकसित जिल्ला र ठाउँको बिकास निर्माणको अवस्था र बिकासको सिस्टमका बिषयमा जानकारी लिएर अनुसरणका लागि हिँडेको टोलीले सिक्किम, दाजिलिङ, मिरिक लगायतको भ्रमण गरेको हो । असार–७ गते जिबिसको आयोजनामा हिँडेको टोलीले तीन दिनसम्म सिक्किम, दार्जिलिङ, मिरिक लगायतको विकास निर्माणको विषयमा जानकारी लिएका छन् । 
पुर्व जिविस सभापति पर्शुराम कार्की र बिष्णुकुमार राई, एमालेका अध्यक्ष बबी चामलीङ, राप्रपाका अध्यक्ष ललितकुमार राई, नेकपा मालेका केन्द्रीय सदस्य एबं स्थानीय शान्ति समितिका संयोजक श्यामराज राई, नेकपा मालेका जिल्ला संयोजक मिनप्रसाद आचार्य, खम्बूवान राष्ट्रिय मोर्चाका अध्यक्ष तुलसी तिलुङ खम्बू, जिबिसका कार्यक्रम अधिकृत रबिकिरण आचार्य, सूचना प्रबिधि अधिकृत प्रबीण पोखरेल लगायतको टोलीले सिक्किमको हाइड्रोपावर, अर्गानिक खेती, व्यवस्थित शहरीकरण, सडक निर्माण, धार्मिक पर्यटन लगायतका बिषयमा अध्ययन गरेको छ । 
महात्मागान्धी मार्ग, मेन रोड, चुक्लाकखाङ गुम्बा, छोगेल दरबार, सुपरमार्केट, पुस्तकालय, रोपवे, नाम्ग्याल ईन्स्टिच्यूट लगायतका स्थान अवलोकन गरिएको छ । केन्द्रबाट आएका नेताहरुसँग बैठकमा व्यस्त भएका कारण सिक्किमका मूख्य मन्त्री पवन चामलीङसँग भने टोलीको भेट हुन सकेन । मूख्यमन्त्री चामलीङसँग भेट नभएपनि उनका पिआरओसँग भेटघाट तथा छलफल गरिएको थियो । 
सिक्किमबाट शुक्रबार साँझ दार्जिलीङ आइपुगेको टोलीले शनिबार टाइगरहिल, चिया बगान, चिडियाखाना, संग्रहालय लगायतका स्थान अध्ययन अवलोकन गरेको छ । यस्तै, मिरिक र सो स्थानका पर्यटकीयस्थलको अवलोकन गरिएको छ । अध्ययनभ्रमणकाक्रममा सम्भावना भएपनि खोटाङमा सिर्जनात्मक तरिकाले बिकास निर्माण गर्न नसकिएको टोलीको निष्कर्ष छ ।