काठमाडौं १५ असार 
सांसद विशाल भट्टराई
खोटाङका सांसद विशाल भट्टराईले च्यानडाँडा गाविसमा बोक्सीको आरोपमा कुटिएर गम्भीर घाइते भएकी एक ७२ वर्षिया एकल वृद्धाले न्याय नपाएकोप्रति प्रहरी प्रशासनको कमजोरी रहेको औल्याएका छन् । उनले पीडितले न्याय नपाउनु र पीडक सजायको भागीदार बन्न नसक्नुमा प्रहरी प्रशासनको गम्भीर कमजोरी भएको टिप्पणी गरेका छन् ।
घटना घटेलगत्तै पीडितका आफन्त र छिमेकीमार्फत आफूले पनि थाहा पाएको र प्रहरीलाई स्वयम् आफैंले पटक पटक फोनमार्फत दोषीलाई कारबाही गर्न भनेको भन्दै महिना दिन बितीसक्दा पनि प्रहरीले पक्राउ गर्न नसक्नु र प्रहरीले मुद्धा समेत कमजोर बनाएर चलाउनुले प्रहरी प्रशासनको काम कारबाहीमा प्रश्न उठेको उनको भनाई छ । ‘मलाई घटना लगत्तै उनका आफन्तले सम्पर्क गरेका थिए, घाइतेको तत्काल उपचार गराउनु भनेको थिए, पछाडी मैले तीन/चार पटक प्रहरीलाई फोन गरेर दोषीलाई कारबाही र पीडितलाई न्याय हुनुपर्छ भनेको थिए’, हाम्रोखोटाङ डटकमसँग कुरा गर्दै सांसद भट्टराईले भने, ‘तर अहिले बुझ्दा आजसम्म पनि दोषी पक्राउ परेका छैनन् रहेछन्, अनि पीडित पक्षले आफूले भने बमोजिम बोक्सीको आरोप भन्दा पनि सामान्य कुटपिट जस्तै गरेर सार्वजनिक अपराध अन्तर्गत मुद्धा चलाएको सुन्नमा आएको छ, यस्तो काम ठिक होइन प्रहरीले तत्काल आफ्नो गल्ती सच्याएर पीडितलाई न्याय दिनुपर्छ ।’
सांसद भट्टराईले तराई क्षेत्रमा बोक्सीको आरोपमा कुटपिट हुने गरेको सुनेपछि आफ्नो जिल्लामा नसुनेको भन्दै २१ औं शताब्दीमा यस्तो घटना घट्नु ज्यादै नराम्रो भएको र आगामी दिनमा यस्ता घटना दोहोरिन नदिन सबैले भूमिका निभाउनुपर्ने समेत बताए ।
१३ जेठका दिन च्यानडाँडा एकका धनगन्ज राई दम्पत्तिले स्थानीय एक वृद्धालाई मरोणासन्न हुनेगरी बोक्सीको आरोपमा कुटपिट गरेका थिए । पीडित घाइते वृद्धाको जिल्ला अस्पताल दिक्तेल पुर्याएर टाउकोमा सात टाका लगाइएको थियो । उनको हात र खुट्टामा समेत गम्भीर चोट लागेको थियो । तर प्रहरीले दोषीलाई पक्राउ गरी कारबाही गर्न सक्रियता देखाएको छैन ।
यता, बोक्सीसम्बन्धी निक्कै कडा कानुन भएकाले प्रहरीले मिलेमतोमा दोषीलाई उन्मुक्ति दिन सार्वजनिक अपराध अन्तर्गत मुद्धा अगाडी बढाईरहेको समेत बुझिन आएको छ । बोक्सी सम्बन्धी कसुर तथा सजाय अनुसार पीडितको उपचार खर्चका साथै १० वर्ष कैद र ५० हजारदेखि १ लाखसम्म सजायको व्यवस्था गरिएको छ ।