खोटाङ, २७ असार । जिल्ला अदालत खोटाङले यस आर्थिक वर्षमा ७२ दशमलव ०२ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । यस आर्थिक वर्षभित्र अदालतमा दर्ता भएका २८६ मध्ये गत असार २४ गतेसम्ममा २०६ वटा मुद्दा फछ्र्यौट गरेको हो ।
जसमा फौजदारी अभियोगको मुद्दा सबैभन्दा बढी २१६ वटा दर्ता भएको र यस आर्थिक वर्षमा १६८ वटा फछ्र्यौट गरिएको अदालतका श्रेस्तेदार शिवप्रसाद पराजुलीले जानकारी दिनुभयो । “हामीले वार्षिक कार्ययोजना नै बनाएर काम थालेका थियौं ।” उहाँले भन्नुभयो, “हामीले तयार गरेको कार्ययोजनाभन्दा बढी काम भएको छ ।”
अदालतले दुनियावादी देवानीमा ७० वटा दर्ता गरेकोमा ३८ र ८७ वटा दुनियावादी फौजदारी मुद्दा दर्ता गरेकोमा ५९ वटा फछ्र्यौट गरेको जनाइएको छ । अदालतले यस आर्थिक वर्षमा गरिएको कामको प्रगतीबारे आइतबार आफ्नै कार्यालयमा पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो ।
अदालतले यस आर्थिक वर्षमा छ लाख ६९ हजार २९० रुपैयाँ ५० पैसा जरिवाना रकमसमेत असुल गरेको श्रेस्तेदार पराजुलीले जानकारी दिनुभयो । ३४ लाख ३१ हजार ४७९ रुपैयाँ ८५ पैसा असुल गर्नुपर्नेमा अझै २७ लाख ६२ हजार १८९ रुपैयाँ ३५ पैसा बाँकी रहेको जनाइएको छ ।
अदालतले जिल्लामा पछिल्लो समय विभिन्न सचेतना मूलक गोष्ठी तथा छलफल जस्ता कार्यक्रमसमेत गर्दै आएको छ । “कानूनको बारेमा जानकारी नहुने व्यक्तिले गरेको अपराधमा छुट हुँदैन ।” पत्रकार सम्मेलनमा बोल्दै जिल्ला न्यायाधिस शान्तिप्रसाद आचार्यले भन्नुभयो, “त्यसैले गाउँगाउँमा पुगेर त्यस्ता व्यक्तिलाई कानूनी प्रावधानको बारेमा जानकारी दिन गोष्ठी तथा छलफल चलाएका हौं ।”