खोटाङ, साउन ७ । खोटाङमा पनि नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको ३८ औँ स्मृति दिवस मनाइएको छ । नेकपा एमालेको आयोजनामा दिक्तेलस्थित पुष्पलाल स्मृति भवनमा पुष्पलालको योगदान, त्यागको विषयमा चर्चा गर्दै स्मृति दिवस मनाइएको हो ।
 स्मृति दिबसमा एमालेका बैकल्पीक केन्द्रीय सदस्य राजन राई, प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्की, नेपाली कांग्रेसका जिल्ला सचिव इच्छुराम राना, नेकपा माओबादी केन्द्रका अध्यक्ष पृथ्बी किराती, अनेमसंघकी अध्यक्ष मनिषा राई, गैससमहासंघका अध्यक्ष बिमल श्रेष्ठ लगायतले पुष्पलालको योगदानका विषयमा चर्चा गर्नुभएको थियो । कार्यक्रमका बक्ताहरुले पुष्पलालले देखाएको मार्गदर्शनलाई भुल्न नहुनेमा जोड दिएका छन् । कार्यक्रम एमालेका जिल्ला अध्यक्ष बबी चामलीङको सभापतित्वमा सम्पन्न भएको थियो ।
विसं १९८१ असार–१५ गते रामेछाप जिल्लामा पिता भक्तलाल र आमा तुलसीकुमारीका माहिला छोराका रुपमा जन्मिनुभएका पुष्पलालले प्रवासमा बसेर नेकपाका गतिविधि सञ्चालन गर्नुभएको थियो । विसं २००६ वैशाखमा चार जना साथी निरञ्जनगोविन्द वैद्य, नारायणविलास जोशी, नरबहादुर कर्माचार्य र मोतीदेवी शाक्यसँग मिलेर पुष्पलालले पहिलो पटक भारतको कोलकातामा बसेर नेपाल कम्युनिष्ट पार्टी स्थापना गर्नुभएको थियो । नेपालका प्रायः सबै कम्युनिस्ट पार्टीले श्रद्धा गर्ने पुष्पलाल सहिद गङ्गालाल श्रेष्ठका भाइ हुनुहुन्थ्यो । उहाँले स्थापना गर्नुभएको कम्युनिष्ट पार्टी अहिले विभिन्न समूहमा विभाजित बनेका छन् ।
नेपाली काँग्रेस लगायत प्रजातान्त्रिक शक्तिसंँग मिलेर संयुक्त जनान्दोलन गरी पञ्चायत व्यवस्था ढाल्ने आन्दोलनमा पुष्पलाल सधैँ लड्नु भएको थियो ।