खोटाङ, साउन ८ । आर्थिक वर्ष २०७२/०७३ मा खोटाङको दिक्तेल नगरपालिकाको ३० लाख बजेट फ्रिज भएको छ ।
सदरमुकाम दिक्तेलबजारमा सडक बत्ती राख्नकालागि बिनियोजित नगरपालिका अनुदानको ३० लाख रकम फ्रिज भएको हो । ‘अँध्यारोमा आफै बल्ने र उज्यालोमा आफै निभ्ने’ सोलारसहितको सडक बत्ती राख्नका लागि आर्थिक वर्षको अन्त्यतिर अख्तियारी आउँदा रकम फिर्ता गएको दिक्तेल नगरपालिकाका कार्यकारी अधिकृत अनिल किरातीले बताए । २ करोड २२ लाख बजेटमध्ये सडक बत्ती राख्नका लागि छुट्ट्याइएको बजेट फ्रिज भएको नगरपालिकाले पत्रकार भेटघाट कार्यक्रम गरेर जानकारी दिएको छ ।
गत वर्ष १ करोड १३ लाखको हाराहारीमा बजेट फ्रिज भएको नगरपालिकामा यसपल्ट फ्रिज रकमको मात्रा ३० लाखामा झरेको हो । ‘शुन्य पेश्की’मा योजनाको काम गरिएकाले बजेट फ्रिजको मात्रा घटेको कार्यकारी अधिकृत किरातीले जनाए । आर्थिक वर्ष २०७२÷०७३ मा एक सयको हाराहारीमा योजना सञ्चालन भएको थियो ।
गत जेठ–१७ गते अख्तियारी आएपछि जेठ–२७ गते बलराम ढकालको अध्यक्षतामा उपभोक्ता समिति गठनका काम भएपनि जेठ मसान्तभित्र योजना सम्झौता हुन नसक्दा नगरपालिका अनुदान रकम फ्रिज भएको हो । स्थानीय बिकास मन्त्रालयको ३० लाख, नगरपालिकाको ९ लाख र उपभोक्ताको ७ लाख गरी कुल ४६ लाखमा ४० वाट क्षमताको ४६ वटै सडक बत्ती राख्नुपर्ने योजना थियो । प्रतिलाख एक वटा सोलार बत्ती राख्नुपर्ने भनिएपनि खरिदकाक्रममा एउटै बत्तीको मूल्य १ लाख २५ हजार पर्ने भएपछि उपभोक्ता समितिले काम गर्न नसकेको जनाएको छ । दिक्तेल बजारका साँघुरो सडकमा सडक बत्तीको पोल राख्ने ठाउँ अभाव, वर्षाका कारण सामान ढुवानीमा समस्या, उपभोक्ताबाट ७ लाख जुटाउनमा आइपर्ने अप्ठ्यारो लगायतका कारण सडक बत्तीको काम हुन नसकेको हो । सडक बत्ती दिक्तेल बजारका रत्नपार्कदेखि हाटडाँडाका बिभिन्न चोक र स्थान, बसपार्क, मुढे, मझुवागढी, खानीडाँडा बिमानस्थल लगायतका स्थानमा राख्ने तयारी गरिएको थियो ।
यस्तै, दिक्तेलबजारको सडक पिच गर्नकालागि आएको स्थानीय बिकास शुल्क कोषको ४५ लाख ४३ हजार रुपैयाँ रकम फ्रिज भएको छ । स्थानीय बिकास सहयोग कोषबाट प्राप्त भएको ८७ लाख ४३ हजार रकममध्ये ४२ लाखमा एउटा व्याक–हो लोडर खरिद गरेपछि बाँकी रहेको ४५ लाख ४३ हजार रकम फ्रिज भएको हो । सडक पिचकाक्रममा बजारका केही उपभोक्ताबाट असहयोग भएपछि फ्रिज हुने रकमलाई व्याक–हो लोडर खरिदमा उपयोग गरिएको दिक्तेल नगरसमितिका गोपालचन्द्र आचार्यले बताए ।