खोटाङ, साउन ११ । स्थानीय तहको संख्या र सिमानाको विषयले सबैलाई तताएको छ । गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोगलाई गाउँपालिकाको सिमाना र स्वरुपका विषयमा सुझाव दिनकालागि खोटाङका संघ संस्थादेखि राजनैतिक दलले आ–आफ्नै खाका तयार पारिरहेका छन् । उनीहरु आ–आफ्नै तरिकाले गाउँपालिकाको खाका तयार पार्नमा व्यस्त छन् । बाटोघाटो, मेलापातदेखि चिया पशलसम्म स्थानीय तहको संख्या र सिमानाको बिषयले बहस र चर्चा पाइरहेको छ ।
जिल्ला बिकास समितिले एक नगरपालिका र ७२ गाबिस रहेको जिल्लामा बन्ने गाउँपालिका र नगरपालिकाको सिमा र संख्या निर्धारणका विषयमा साउन–१६ गतेभित्र आ–आफ्नो धारणा, राय तथा सुझाव पेस गर्न आव्हान गरे लगत्तै किरात राई यायोक्खाले ७ वटा गाउँ पालिका र २ वटा नगरपालिकाको खाका तयार पारेको छ । सोमबार जिल्लाका जातीय संघसंस्थाबाट र मंगलबार जिल्लाका राजनैतिक दलसँग छुट्टाछुट्टै छलफल गरेर यायोक्खाले आयोगले निर्धारण गरेकै मापदण्ड अनुशार गाउँपालिका र नगरपालिकाको स्वरुपको खाका तयार पारेको छ । आफ्नोतर्फबाट बनाइएको स्थानीय निकायको खाकालाई छलफलमा लगेर अन्तिम रुप दिइएको किरात राई यायोक्खाकी जिल्ला अध्यक्ष अञ्जना राईले बताईन् । यायोक्खाले २ वटा नगरपालिका र ७ गाउँपालिकाको सिमाना र केन्द्र निर्धारण गरेर जिबिसमा बुझाउने तयारी गरेको हो । लामो छलफल र बहसपछि बनाइएको गाउँपालिकाको खाका बुधबार जिबिसमार्फत आयोगलाई बुझाईने जनाइएको छ । स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डे संयोजकत्वको स्थानीय तह पुःर्नसंरचना प्राबिधिक सहयोग समितिले पनि स्थानीय तह पुःर्नसंरचनाका बिषयमा बिभिन्न क्षेत्रका बिज्ञासँग छुट्टाछुट्टै छलफल तथा परामर्शलाई जारी राखेको छ । प्राप्त भएको सुझावलाई साउन सान्तभित्र गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित वा स्वयत्त क्षेत्रको संख्या तथा सिमाना निर्धारण आयोग समक्ष बुझाईने जिल्ला बिकास समितिले जनाएको छ ।
दुई दिनको छलफलपछि दिक्तेल केन्द्र रहेको दिक्तेलनगरपालिका, दुर्छिम केन्द्र रहेको हलेसी नगरपालिका, ऐसेलुखर्क केन्द्र रहेको रावाथुम गाउँपालिका, नुनथला केन्द्र रहेको डुम्रेकोट/सावा गाउँपालिका, बाक्सिला केन्द्र रहेको साम्पाङ÷साम्फेलुङ गाउँपालिका बनाउन सुझाव तयार पारिएको यायोक्खाका उपाध्यक्ष हात्तीराम राईले जानकारी दिए । उनका अनुशार मानेभञ्ज्याङ केन्द्र रहेको साकेला गाउँपालिका, चिसापानी केन्द्र रहेको छौङ्खा गाउँपालिका, साउनेचौंर केन्द्र रहेको दिप्लुङ÷बरुवा गाउँपालिका र ईन्द्रेणीपोखरी केन्द्र रहेको खोटाङ÷तुवा गाउँपालिका प्रस्ताव गरिएको छ ।
दुई नगरपालिका, रावाथुम, डुम्रेकोट÷सावा र साम्पाङ÷साम्फेलुङ गाउँपालिकाको सिमानाका बिषयमा सबैको सहमती रहेको यायोक्खाले जनाएको छ । ‘अन्य गाउँपालिकाको सिमानाका विषयमा पनि यसै खाकाका आधारमा टुंगो लगाउनेमा सबैको सहमती जुटेको छ,’ उपाध्यक्ष राईले भने, ‘नामका बिषयमा पनि कसैको आपत्ती देखिएको छैन ।’ गाउँपालिकाको केन्द्रकालागि खोटाङबजार र सिमपानीको तानातान हुनेभएकाले खोटाङ÷तुवा गाउँपालिकाको केन्द्र ईन्द्रेणीपोखरी तोकिएको बताइएको छ ।
दिक्तेल, खाल्ले, लफ्याङ, बाम्राङ, दोर्पाचिउरीडाँडा, नेर्पा, निर्मलीडाँडा, खार्मी र पाथेका रहनेगरी दिक्तेल नगरपालिकाको सिमाना निर्धारण गरिएको छ । यस्तै, महादेबस्थान, धितुङ, अर्खौले, सल्ले, दुर्छिम, च्यास्मीटार, मंगलटार, बडहरे, डिकुवा र बाहुनीडाँडालाई समेटेर हलेसी नगरपालिका प्रस्ताव गरिएको छ । डुम्रेधारापानी, दुबेकोल, माक्पा, ज्यामिरे, महेश्वरी, जलेश्वरी, ऐसेलुखर्क र बाकाचोललाई समेटेर डुम्रेकोट गाउँपालिका, राखाबांदेल, दिप्सुङ, सप्तेश्वर, बाक्सिला, बासपानी, सुंदेल, खार्ताम्छा र फेदीलाई समाबेश गरेर साम्पाङ÷साम्फेलुङ गाउँपालिका, च्यानडाँडा, रतन्छा, खिदिमा, मात्तिम, छितापोखरी, टेम्मा, याम्खा र डाँडागाउँलाई समेटेर साकेला गाउँपालिका प्रस्ताव गरिएको छ । वाप्लुखा, सावाकटहरे, बड्कादियाले, लिकुवापोखरी, डम्बर्खुशिवालय, चिसापानी, काहुले र बोपुङलाई समाबेश गरेर छौंङ्खा गाउँपालिका, बराहपोखरी, दिप्लुङ, मौवाबोटे, सुन्तले, फाक्टाङ, पौवासेरा र देबिस्थानलाई समेटेर दिप्लुङ÷बरुवा गाउँपालिका तथा छोरम्बु, बतासे, सछितापोखरी, चिप्रिङ, ईन्द्रेणीपोखरी, लिच्कीराम्चे, सिमपानी र खोटाङबजारलाई समेटेर खोटाङ÷तुवा गाउँपालिका प्रस्ताव गरिएको यायोक्खाले जनाएको छ ।
केही समयअघि स्थानीय शान्ति समितिको संयोजनमा बसेको सर्वदलीय बैठकले भने जिल्लामा १३ गाउँपालिका हुनुपर्ने राय आयोगलाई बुझाएको थियो । आकारमा पनि छिमेकी जिल्ला ओखलढुंगा, सोलुखुम्बु र भोजपुरभन्दा ठूलो भएकाले पनि खोटाङमा गाउँपालिका बढि हुनुपर्ने दलका नेताहरुले बताएका छन् ।