खोटाङ, साउन १८ । खोटाङमा स्थानीय तहको पुर्नसंरचनाको खाका तयार पार्ने काम थालिएको छ । आगामी साउन–२४ गतेभित्र स्थानीय तहको पुर्नसंरचनाको खाकालाई टुंगो लगाउने गरी सोमबारदेखि काम थालिएको हो ।

 गाउँपालिका, नगरपालिका तथा बिशेष संरक्षित क्षेत्र निर्माण, सिमाना र सिमाना निर्धारणका आधार र मापदण्डका बिषयमा सबैको साझा बुझाई र धारणा सिर्जनाकालागि जिल्ला स्तरिय गोष्ठी आयोजना गरेर काम सुरु गरिएको स्थानीय बिकास अधिकारी निश्चलराज पाण्डेले बताउनुभयो । स्थानीय तहको पुर्नसंरचनाको विषयमा राय संकलन, खाका निर्माण र खाकालाई अन्तिम रुप दिनकालागि सोमबार उच्चस्तरिय समन्वय तथा सहजीकरण समुह, स्थानीय तह खाका निर्माण समुह र स्थानीय स्तर परामर्श संकलन समुह गठन गरिएको छ ।

खोटाङमा ९ वटा गाउँपालिका र नगरपालिका रहने प्रस्ताव गरिएको छ । स्थानीय तह खाका निर्माण समुहले मंगलबारदेखि साउन–२३ गतेसम्म लगाएर स्थानीय तहको पुर्नसंरचनाको खाका तयार पार्ने छ । यस्तै, जिबिस लगायत बिभिन्न कार्यालयका शाखा अधिकृतको नेतृत्वमा बनाइएको स्थानीय स्तर परामर्श संकलन समुहले जिल्लाका १० ठाउँमा पुगेर गाउँपालिका नगरपालिका निर्माणको विषयमा राय र सुझाव संकलन गरेर ल्याउने छन् । स्थानीय तह खाका निर्माण समुहले तयार पारेको खाका र स्थानीय स्तर परामर्श संकलन समुहले संकलन गरेर ल्याएको सुझावका आधारमा पुःन साउन–२४ गते उच्चस्तरिय समन्वय तथा सहजीकरण समुह सहित बसेर जिल्लाको स्थानीय तहको खाकालाई टुंगो लगाइने स्थानीय बिकास अधिकारी पाण्डेले जानकारी दिनुभयो ।