खोटाङ, २१ साउन । जिल्लामा आईएमई गर्ने क्रममा पाउने व्यक्तिको सम्पर्क नम्बर फरक पर्दा बेपत्ता भएको रकम फिर्ता गरिएको छ । बडकादियाले–१ का नरेश राईले जिल्लामा सञ्चालित हाम्रो खोटाङ कम्पनीमार्फत आईएमई गर्दा गलत सम्पर्क नम्बर भएर बेपत्ता भएको एक लाख ५० हजार रकम कम्पनीले खोजी गरेर फिर्ता गरेको हो ।
शुक्रबार एक लाख ५० हजारको चेक बुझ्दै नरेशले भन्नुभयो, “मेरो गल्ती भयो, पैसा खोजी गरेर बुझाउनुभएकोमा धन्यवाद दिन चाहान्छु ।” पैसा बुझेपछि नरेशले प्रशासन, शान्ति समिति लगायतमा दिएको उजुरी समेत फिर्ता लिएका छन् ।
गत जेठ–११ गते हाम्रो खोटाङ कम्पनी दिक्तेलबाट आईएमई गरेर काठमाडौं एकान्तकुना बस्ने काका नकुल राईलाई पठाएको रकम नरेशले गलत नम्बरमा फोन गरेर पठाएपछि बेपत्ता भएको थियो । नरेश आफै बोलेर पैसा पठाइ दिएको भएपनि उनले गलत मान्छेलाई सम्पर्क गरेकाले रकम बेपत्ता भएको कम्पनीका अध्यक्ष ध्रुवकुमार श्रेष्ठले बताउनुभयो । “हाम्रो कम्पनीको कुनै दोष छैन ।” श्रेष्ठले भन्नुभयो, “आईएमई गर्नेले जुनमा गर्न लगायो हामीले त्यसैमा गरिदिएका हौं ।”
आईएमईबाट रकम पठाउनेक्रममा पाउने व्यक्तिको मोबाईलको अन्तिम नम्बर फरक पर्दा मकवानपुर फापरबारी–७ का सरोज तिमलसिनाले रकम झिकेर लगेका थिए । पैसा पठाउनेक्रममा नरेशले रकम पाउने नकुलको सम्पर्क नम्बर ९८२३०६५००८ हुनु पर्नेमा अन्तिमको नम्बर फरक पारेर ९८२३०६५००१ आईएमईवालालाई दिएपछि राईको रकम बेपत्ता भएको हो ।
दिक्तेलबाट बेपत्ता भएको रकमको विषयमा सोधपुछका लागि कम्पनीका प्रोपाईटर चिरन श्रेष्ठ काठमाडौं पुगेर पत्ता लगाएपछि रकम फिर्ता गराएको जनाइएको छ । कम्पनीले कुनै गलत नगरे पनि रकम खोजी गरेर बुझाइएको चिरनको भनाइ छ ।
एक लाख ५० हजार बेपत्ता भएपनि तिम्सिनाबाट ७५ हजार मात्र फिर्ता गर्न सफल भएको चिरनले बताउनुभयो । “बाँकी रकम उठाउने क्रममा आफू रहेको र नरेशलाई भने दुःख नदिन पुरै रकम हस्तान्तरण गरेका छौं ।” उहाँले भन्नुभयो, “यस विषयमा हाम्रो कुनै कमजोरी नभएपनि हामीले आफ्नो ईमान्दारीता प्रस्तुत गरेका हौं ।”
काकालाई पैसा पठाउन राईसँग साथमा नागरिकता नभएपछि यस्तो समस्या आएको बुझिएको छ । ५० हजारभन्दा बढी रकम पठाउन पठाउने व्यक्तिको नागरिकता चाहिने भएपछि रेमिट्यान्स सञ्चालक अनिता जोशीको नागरिकता राखेर रकम पठाइएको थियो ।