खोटाङ, ३२ साउन । “श्रीमतीको निधन भयो छाडेर गईन् ।” एक युवाले भने, “हामी दुईबीचको नाता सम्बन्ध राख्ने नौं महिने बालकको बिचल्ली हुने भयो ।”
ब्लड क्यान्सरबाट पीडित बनेकी श्रीमतीको उपारको क्रममा मृत्यु भएपछि खोटाङ खार्मी–८ का अशोक तामाङले यस्तो दुखेसो पोख्नुभएको हो । क्यान्सरबाट पीडित बनेकी १८ वर्षीया कविता तामाङको उपचारको क्रममा साउन ३० गते मृत्युु भएको हो ।
काठमाडौंको सिभिल अस्पतालमा उपचार गराउनेक्रममा कविताको मृत्यु भएपछि उनको नौं महिने बालकको बिचल्ली भएको छ । कविताले आफू नबाँच्ने थाहा पाएपछि छोरा बँचाइ दिन आग्रह गर्दै सहयोगको याचना गरेकी थिइन् । काखमा दूधे बालक च्यापेर उपचार गराइरहेकी कविताले आफू मर्नुअघि भनेकी थिइन्, “म त मर्ने नै भएँ, सक्नुहुन्छ भने मेरो छोरालाई बँचाइ दिनुस् ।”
क्यान्सर पीडित कविताले आफू र आफ्नो छोरा बँचाइ दिन आग्रह गरेको समाचार राष्ट्रिय समाचार समितिमार्फत विभिन्न सञ्चार माध्यममा प्रकाशन तथा प्रशारण भएपछि सहयोग रकमसमेत जुट्न थालेको थियो । ऋणपान गरेर काठमाडौंको भैंसेपाटीमा कोठा लिएर उपचार गराइरहेकी कवितालाई अस्पतालले २० लाख रुपैयाँ मागेपछि सहयोगको याचना गरेकी थिइन् ।
कविताको मृत्यु भएपछि उनको उपचारमा सहयोग गर्न विभिन्न देशबाट संकलन भएको करिब छ लाख रुपैयाँ रकम हस्तान्तरण गर्न नपाइएको खोटाङ बास्पानीका राजन राईले बताउनुभयो । “सहयोग रकम लिएर हामी अस्पताल गएका थियौं ।” एमाले वैकल्पिक केन्द्रीय सदस्यसमेत रहनुभएका राईले भन्नुभयो, “उसको राति नै मृत्यु भइसकेको खबर सुन्नासाथ हामी मर्माहत भयौं ।”
देश तथा विदेशबाट संकलित सहयोग रकम नाबालकको नाममा बैंक खाता खोलेर जम्मा गरिदिने तयारी गरिएको राईले जानकारी दिनुभयो । “दुई÷तीन जना संरक्षक बसेर बालकको नाममा खाता खोल्ने तयारी गरेका छौं ।” उहाँले भन्नुभयो, “बैंकमा जम्मा हुने रकम उनै दूधे बालकको लालनपालन तथा शिक्षादिक्षामा खर्च हुनेछ ।”
दुई वर्षअघि अशोकसँग विवाह भएको कवितालाई कक्षा १० पढ्दादेखि नै क्यान्सर देखिएको पारिवारिक स्रोतले जनाएको छ । निम्न आर्थिक अवस्था भएका अशोक कवितासँग वैवाहिक बन्धनमा बाँधिएपछि रोजगारीको सिलसिलामा साउदीअरब गएका थिए ।
घरमा रहेकी श्रीमती बिरामी भएपछि उनको उपचारका लागि साउदीबाट छुट्टीमा आएका अशोक श्रीमतीको मृत्यु भएपछि पुनः साउदी जानबाट वञ्चित बनेका छन् । वैदेसिक रोजगारीकै माध्यमबाट घरपरिवार धान्दै आएका अशोकलाई श्रीमतीको मृत्यु भएपछि पुनः विदेश जान नपाएपछि समस्या भएको हो ।
खार्मी–५ मा अठार वर्षअघि जन्मिएकी कविताको यसै महिना आमाकोसमेत क्यान्सरकै कारण मृत्यु भएको थियो । आमाको अन्तिम संस्कारको दिन छोरी कविताको समेत क्यान्सरकै कारण मृत्यु भएपछि दुवै परिवार शोकमा डुबेका छन् ।