खोटाङ ५ भदौ । हेलिकोप्टर पर्खँदा पर्खँदै उच्च ज्वरोका कारण ज्यान गुमाएका खोटाङको बुईपा–२ का शिक्षक दिपक राईको योगदानको चिर स्मरण गर्न र उनको आश्रित परिवारको सहयोगका लागि समिति बनेको छ ।
अस्पताल जानका लागि हेलीकोप्टरको प्रतिक्षा गर्दागर्दै ज्वरोले ज्यान गुमाएका शिक्षक राईको योगदानलाई चिर स्मरण गर्न र श्रीमती सहित दुई नावालिका छोरीको सहयोगकालागि अमरकुमार राईको अध्यक्षतामा स्वर्गीय शिक्षक दिपक राई स्मृति सहयोग समिति गठन गरिएको हो । शनिबार गठन गरिएको समितिले शिक्षक राईको योगदानलाई चिर कालसम्म स्मरण गर्ने वाताबरण बनाउन बिद्यालयमा अक्षय कोष खडा गर्ने र आश्रित बालिकाको पठन–पाठनको व्यवस्था मिलाउने जनाएको छ ।
शुभेच्छुकबाट संकलन गरिने १० लाखमध्ये केही रकम शिक्षक राईकी ७ वर्षीय छोरी सुम्नीमा र ५ वर्षीय छोरी डिम्पल राईको पठन–पाठनमा खर्च गर्ने र बाँकी रकमबाट स्थापना गरिने अक्षयकोषबाट बार्षिकरुपमा जिल्लाका जेहेन्दार र मेहनती शिक्षकलाई पुरस्कृत गरिने समितिका सदस्यसचिव राजेश चामलीङले बताए । असोज मसान्तभित्र १० लाख रकम जम्मा गर्ने योजना बनाएको समितिले शनिबार एकैदिन १ लाख १३ हजार ५५६ रुपैयाँ संकलन गरेको जनाएको छ । उच्च ज्वरोले थलिएका चम्पावती उच्च माबि बुईपाका शिक्षक राईको प्रतिकुल मौसमका कारण हेलीकोप्टर नआउँदा गत साउन–२८ गते शुक्रबार साँझ मृत्यु भएको थियो । उनको निमोनियाका कारण मृत्यु भएको अनुमान गरिएको छ । राईकी जेठी छोरी सुम्नीमा चम्पावती माबिमा कक्षा २ मा र कान्छी छोरी कक्षा १ मा अध्ययनरत छिन् । मगाएको हेलीकोप्टर आएपनि प्रतिकूल मौसमका कारण फर्कन नसक्दा सदरमुकाम दिक्तेलकै व्यवसायी डिजेन्द्र जोशीको मृत्यु भएको केही वर्षपछि सोही प्रकृतिबाट शिक्षक राईले ज्यान गुमाएका हुन् ।
ज्वरोको उपचारकालागि राजधानी काठ्माण्डौं लैजानकालागि हेलीकोप्टरको प्रतिक्षा गरेपनि अन्तमा हेलीकोप्टर आउन नसक्दा शिक्षक राईको मृत्यु भएको व्यवस्थापन समितिका अध्यक्ष दिनेश राईले बताए । जिल्ला अस्पताल लैजानेक्रममा बुईपा र नुनथलाको बीचमा पर्ने महुरे पु¥याएपछि शिक्षक राईको मृत्यु भएको थियो । जिल्ला अस्पतालसम्म पु¥याउनकालागि सदरमुकाम दिक्तेलबाट मगाइएको जीपसँग बाटोमा भेट भए लगत्तै राईको मृत्यु भएको आफन्तले बताएका छन् । जिल्लाका अधिकांश बिरामीलाई चार्टर गरिएको हेलीकोप्टरमार्फत काठ्माण्डौंका अस्पतालमा पु¥याउने गरिएको छ ।