खोटाङ, १० भदौ । बिरामीको चाप बढेपछि जिल्ला अस्पताल खोटाङमा शैया अभाव भएको छ । भाईरल ज्वरो, झाडापखाला, निमोनिया, टाईफाईड, रुघाखोकी लगायत रोगका बिरामीको चाप बढेपछि अस्पतालमा शैया अभाव भएको हो ।
१५ शैयाको जिल्ला अस्पतालमा अहिले दैनिक २५ देखि ३० जना बिरामीलाई बेड भर्ना गरेर उपचार गर्नुपर्ने बाध्यता रहेको अस्पतालका प्रमुख चिकित्सक रामबहादुर केसीले बताउनुभयो । “दैनिक २०० देखि २५० जनाको हाराहारीमा उपचारका लागि बिरामी आउँछन् ।” उहाँले भन्नुभयो, “शैया अभावमा जटिल किसिमका बिरामीलाई मात्र बेड भर्ना गरेर उपचार गर्ने व्यवस्था मिलाइएको छ ।”
बिरामीको चाप अत्यधिक बढेपछि कुरुवा बस्ने ठाँउमा समेत बिरामी राखेर उपचार गर्ने व्यवस्था मिलाइएको केसीले जानकारी दिनुभयो । अस्पतालमा बिरामीको चाप बढेपछि स्वास्थ्यकर्मीलाई समेत भ्याइनभ्याइ भएको पाइएको छ ।
२०४८ सालमा स्थापना भएको अस्पतालमा शैंया अभाव भएपछि कतिपय बिरामीहरु नजिकको होटल तथा आफन्तको कोठाबाट धाएर उपचार गराउन बाध्य छन् । पछिल्लो समय उपचारका लागि अस्पताल पु¥याइएका सामान्य किसिमका बिरामीलाई समेत अस्पतालाले अन्यत्र रेफर गर्ने गरेको बिरामीका आफन्तले बताएका छन् ।
अस्पतालमा शैया थप्ने बारेमा यसअघि नै मन्त्रीस्तरको निर्णय भएको खोटाङ क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद विशाल भट्टराईले बताउनुभएको छ । “मन्त्रीमण्डल परिवर्तन हुनासाथ कुनै काम अगाडि बढाइएको छैन ।” उहाँले भन्नुभयो, “यसलाई कार्यान्वयन गराउन पहल भइरहेको ।”
स्थापना भएको २५ वर्ष बितिसक्दा समेत अस्पतालको स्तरोन्नती नहुनुमा सम्बन्धित निकायले चासो नदिएको जिल्लावासीको आरोप छ । जिल्ला अस्पताल खोटाङमा अहिले ३८ गाविसभन्दा बढीका स्थानीयले सेवा दिने गरेका छन् ।