खोटाङ जेठ–८, अक्सिजन प्लाण्ट खरिद तथा जडान प्रक्रियाका लागि जिल्ला अस्पताल खोटाङलाई अर्थमन्त्रालयले ७५ लाखको सहमति दिएको छ । जिल्लामै अक्सिजन उत्पादनका लागि स्वास्थ्य मन्त्रालयको माग बमोजिम अर्थमन्त्रालय बजेट तथा कार्यक्रम महाशाखाले जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट खरिद जडान प्रक्रिया अघि बढाउन सहमति दिएको हो ।

अर्थमन्त्रालयले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय नीति तथा योजना शाखालाई जेठ ६ गते दिएको सहमतिसँगै जिल्ला अस्पतालमा अक्सिजन प्लाण्ट जडानका लागि बाटो खुलेको छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रण जिल्ला समन्वय समितिको गत बैसाख ३१ गते बसेको बैठकले जिल्लामा अक्सिजन प्लाण्ट तथा पिसिआर मेसिन खरिद तथा व्यवस्थापनका लागि डाक्टर बैभव मल्लिकको संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको थियो ।

कोभिड–१९ को दोश्रो लहरको महामारीलाई मध्यनजर गर्दै संक्रमितलाई आवश्यक अक्सिजनको व्यवस्थाका लागि प्लाण्टको अवधारणा अघि सारिएको थियो । कार्यदल बनेसँगै स्वास्थ्य कार्यालय खोटाङले अक्सिजन प्लाण्ट स्थापनाका लागि एक करोड निकासाका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय समक्ष रकम माग गरेको थियो ।

अर्थमन्त्रालयले खोटाङ सहित १३ वटा अस्पतालमा अक्सिजन प्लाण्ट खरिद तथा जडान एवं हाइ डिपिडेन्सी यूनिट (एजडियू) बेड जडान गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई १७ करोड ८७ लाख ७० हजार बजेटको सहमति दिएको छ ।।