खोटाङ, १२ भदौ
खोटाङ प्रहरी प्रशासनकै मिलोमतोमा दोषीलाई उन्मुक्ति दिन गम्भीर किमिसको बोक्सी सम्बन्धी मुद्धालाई सामान्य कुटपिट भन्दै सार्वजनिक अपराध शिर्षकमा मुद्धा चलाइएको पाइएको छ ।
खोटाङ च्यानडाँडा एकका ७२ वर्षिया एक एकल बृद्धालाई स्थानीय धनगन्ज राई दम्पत्तिले बोक्सीको आरोप लगाउँदै मरोणाशन्न हुने गरी कुटपिट गरेको तीन महिना बित्दा पनि पीडित वृद्धाले न्याय पाउन सकेकी छैनन् भने प्रहरीले समेत कमजोर मुद्धा चलाएर दोषीलाई कारबाही गर्नुपर्नेमा उन्मुक्ति दिन खोजेको देखिएको छ ।
गत १३ जेठमा ती वृद्धामाथि मरणोशान्न हुनेगरी निर्घात कुटपिट भएको थियो । राई दम्पत्तीले आफ्नो छोरो नबोलेको भन्दै त बोक्सी होस्, तैले बोल्ने बनाउनुपर्छ, बोल्ने नबनाए ज्यान समेत लिने भन्दै कुटपिट गरेको पीडित वृद्धा तथा प्रत्यक्षदर्शीले बताएका छन् । निर्घात कुटिएकी ती वृद्धालाई तत्काल नै छिमेकीले स्थानीय स्वास्थ्य चौकी र दोस्रो दिन सदरमुकाम दिक्तेलमा उपचार गर्न पुर्याईएका थिए । वृद्धाको टाउकोका ७ टाका लगाइएको थियो भने हातखुट्टामा पनि गम्भीर चोट लागेको थियो । घटना घटेको तेस्रो दिन १५ जेठमा प्रहरी कार्यालय दिक्तेलमा पीडित पक्षले बोक्सीको आरोपमा ज्यान लिने गरी कुटपिट भएको भन्दै जाहेरी दिएपनि प्रहरीले भने सामान्य कुटपिट भएको भन्दै सार्वजनिक अपराध अन्तर्गत मुद्धा अगाडी बढाएको भेटिएको छ ।
बोक्सी सम्बन्धी सजाय तथा कसुरमा बोक्सी आरोप लगाएर कुटपिट गर्ने, खोप्ने, डाम्ने, पोल्ने वा रासायनिक, विषालु वा जैविक पदार्थको प्रहार गरी वा अन्य कुनै किसिमले यातना दिन पाइने छैन । त्यस्ता अपराध गर्नेलाई १० वर्ष कैद र ५० हजारदेखि १ लाख रुपैयाँसम्म जरिवाना तोकिएको छ । बोक्सी आरोपमा अंगभंग गर्नेलाई १० वर्ष कैदसँगै ज्यान मार्ने उद्योगअन्तर्गत थप सजाय हुने उल्लेख छ । कानुनले बोक्सी आरोपमा गाली बेइज्जती गर्ने तथा आरोप लागेको व्यक्तिको परिवारका सदस्यलाई अपमानजनक व्यवहार गर्नेलाई एक वर्षदेखी तीन वर्षसम्म कैद सजायको व्यवस्था गरेको छ । साथै १० हजार रुपैयाँदेखि ३० हजार रुपैयाँसम्म जरिवाना तोकेको छ । बोक्सी आरोपमा सामाजिक बहिष्कार गरेर पीडित बसेको स्थानबाट निकाला गर्नेलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँ जरिवानाको व्यवस्था छ । यस्तै, पीडक पक्षको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको या पीडकले रकम उपलब्ध गराउन नसक्ने अवस्था भए नेपाल सरकारले बेहोर्ने व्यवस्था पनि राखिएको छ ।
खोटाङ प्रहरीले भने बोक्सी सम्बन्धी मुद्धा नचलाएर सामान्य कुटपिटको मुद्धा अगाडी बढाएको हो । च्यानडाँडा १ की ७२ वर्षिया वृद्धालाई कुटपिट गर्ने राई दम्पत्तिलाई जोगाउन प्रहरी प्रशासन लागेको आरोप पीडित पक्षले लगाएका छन् । उनीहरुले जाहेरीपछि बयान दिने क्रममा पनि प्रहरीले नराम्रो व्यवहार गरेको समेत गुनासो गरेका छन् ।
खोटाङका प्रमुख जिल्ला अधिकारी चन्द्र बहादुर कार्कीले उक्त केस आफू समक्ष आएको र २४ हजार धरौटीमा आरोपितहरु छुटेको जानकारी दिए । ‘बोक्सी सम्बन्धी मुद्धा अर्कै तरिकाले चल्ने हो, मसँग आउदैन’, प्रमुख जिल्ला अधिकारी कार्कीले राजधानीसँग भने, ‘कुटपिट र सार्वजनिक अपराधका मुद्धा मसँग आउने हो च्यानडाँडाकी वृद्धाको पनि आएको छ, अब अनुसन्धान गरेर दुवै पक्षलाई बयान लिएर फैसला हुनेछ ।’
प्रहरीले घटनालाई सामान्य कुटपिट तथा अपराध झैं गरी अगाडी बढाउँदा अदालत नभएर प्रमुख जिल्ला अधिकारीसमक्ष पुगेको बताइएको छ । जिल्ला प्रहरी कार्यालय खोटाङले भने पीडित पक्षले दिएको जाहेरीकै आधारमा आफूहरुले मुद्धा चलाएको बताउँदै आएको छ । यसअघि खोटाङका डिएसपी विद्यानन्द माझी भएको अवस्थामा घटना घटेपनि उनी भने अहिले त्यहाँबाट सरुवा भएका छन् ।
जिल्लाका सांसद विशाल भट्टराईले प्रहरी प्रशासनकै मिलेमतोमा दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै आपत्ति जनाएका छन् । ‘यो अहिले जे भईरहेको, जे सुनिरहेको छु त्यो प्रहरीको सरासर गलत कदम हो’ उनले भने, ‘दोषीलाई कडा भन्दा कडा सजाय हुनुपर्छ र पीडितले न्याय पाउनुपर्छ ।’ – राजधानी दैनिकबाट