खोटाङ बैशाख–१४, खोटाङको त्री–धार्मिकस्थल हलेसी १५ दिनका लागि बन्द गरिएको छ । कोरोनाको दोश्रो लहर महामारीलाई मध्यनजर गर्दै जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले हलेसी मन्दिरलाई बैसाख १५ गतेदेखि बैसाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा पर्ने हलेसीमा उपस्थित हुने दर्शनार्थी एवं तीर्थयात्रीको भीडभाडका कारण एक अर्कामा कोरोनाको संक्रमण फैलने खतरा बढेकाले हलेसी मन्दिर बन्द गर्ने निर्णय गरिएको हो । दैनिकजसो दर्शनार्थीको भीड लाग्ने हलेसीमा कोरोनाकै कारण २०७७ चैत ८ गतेदेखि २०७७ मंसिर १६ गतेसम्म बन्द गरिएको थियो ।
गत वर्ष कोरोना कहरका बीचमा हिन्दु, किरात र बौद्ध धर्मावलम्बीको आस्थाको केन्द्रकारुपमा रहेको हलेसीका गुफाको फलामे गेटमा ताला लगाएर बाहिरैबाट पूजाआजा गर्ने व्यवस्था मिलाइएको थियो ।

जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसि)को बैठकले हलेसीसँगै जिल्लाका सबै मठ, मन्दिर, शक्तिपीठ, मस्जिद, गुम्बा र चर्चमा दैनिकरुपमा गरिने नित्य पूजा, प्रार्थना बाहेक भेला भएर गरिने पूजा, प्रार्थना, भजनकृतन, कलश यात्रा, बलिपूजा जस्ता धार्मिक कार्यहरु बैसाख मसान्तसम्म बन्द गर्ने/गराउने निर्णय गरेको छ ।

यस्तै, खोटाङका १० वटै स्थानीय तहका विभिन्न स्थान र समयमा लाग्ने सम्पूर्ण हाटबजार अर्को निर्णय नभएसम्मका लागि बन्द गर्ने/गराउने निर्णय गरिएको डिसिसिएमसिका संयोजक एबं प्रमुख जिल्ला अधिकारी मित्रलाल शर्माले बताउनुभयो । ।