खोटाङ चैत्र–१७, नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय समिति खोटाङको तेश्रो अधिबेशन यही चैत्र २१ र २२ गतेको लागि तय गरिएको छ । जिल्ला समन्वय समितिले दिक्तेलवजारस्थित आफ्नै कार्यालयमा मंगलबार पत्रकार सम्मेलनको आयोजना गर्दै अधिबेशनको मिति सार्वजानिक गरेको हो ।
“भाषा, संस्कार, संस्कृति र पहिचानको संरक्षण गरौं, सहअस्तित्व सहितको समानुपातिक समाबेशी समाजको निर्माण गरौं” भन्ने मूल नारा वनाएको अधिबेशनलाई नेपाल आदिवासी जनजाति महासंघ संघीय परिषद् सचिवालय अध्यक्ष जगतबहादुर बरामले उद्घाटन गर्ने कार्यक्रम छ । दिक्तेलवजारस्थित समीक्षालय हलमा हुने अधिबेशनबाट आउँदै गरेको राष्ट्रिय जनगणना २०७८, भाषा, संस्कृति र पहिचानका विषयमा महत्वपूर्ण नीति, योजना तथा कार्यक्रम तय गर्ने जिल्ला अध्यक्ष हात्तिराम राईले बताउनुभयो ।
उद्घाटन कार्यक्रममा आदिवासी जनजातिहरुको मौलिक तथा साँस्कृतिक भेषभुषसहितको साँस्कृतिक झाँकीहरु समेत प्रदर्शन गरिने आयोजक समितिले उल्लेख गरेको छ ।
जिल्लास्थित १२ वटा जनजातिका एक/एक पुरुष, एक/एक महिला गरी दुई प्रतिनिधि तथा १०/१० जना पर्यबेक्षक सहभागी गराईने पत्रकार सम्मेलनमा वताईएको छ । यस्तै, दशै स्थानीय तहबाट १ पुरुष र एक महिला गरी दुई/दुई जना पर्यबेक्षक सहभागी हुने जनाईएको छ ।
खोटाङमा राई, मगर, गुरुङ, तामाङ, शेर्पा, नेवार, भुजेल, माझी, लिम्बु, थामी, सुनुवार र चौधरीको बसोवास छ । जसमध्ये थामी र चौधरी बाहेक सबै महासंघमा आबद्द रहेको उल्लेख छ । विद्यार्थी, पत्रकार र युवा संघ भातृ संस्था रहेको महासंघले सबै स्थानीय तहमा महासंघको तदर्थ समन्वय परिषद गठन गरिसकेको पत्रकार सम्मेलनमा उल्लेख गरिएको छ । महासंघको बिधानअनुरुप जातीय हिसावमा चक्रीय प्रणालीमार्फत नेतृत्व लिने/दिने जिल्ला समन्वय समितिले स्पष्ट पारेको छ ।
महासंघको राष्ट्रिय अधिबेशन आगामी जेठ १९, २० र २१ गते सुर्खेतमा आयोजना हुने जानकारी गराईएको छ ।।