खोटाङ, २५ भदौ । नयाँ भवन निर्माणका लागि घडेरी सम्याउनेक्रममा पहिरो झरेपछि जिल्ला अस्पताल खोटाङ जोखिममा परेको छ । ठेकेदार कम्पनीले स्काभेटर लगाएर घडेरी सम्याउँदा पहिरो झर्न थालेपछि अस्पताल प्रशासन, शव परीक्षण गृह र दुईवटा शौचालय भवन जोखिममा परेको हो ।
भवन निर्माण गर्न लागिएको ठाउँमा घडेरी सम्याउँदा पानी उब्जिएर पहिरो झर्न थालेपछि समस्या भएको ठेकेदार कुमार आचार्यले जानकारी दिनुभयो । “स्काभेटर लगेर सम्याउन थाले लगत्तै माथिल्लो भाग बगेर झर्न थाल्यो ।” उहाँले भन्नुभयो, “लगातार पहिरो झरेपछि अहिले काम रोकिएको छ ।”
पहिरोका कारण खर्च बढ्ने भएकाले रकम थप गरिनुपर्ने ठेकेदार आचार्य बताउनुभएको छ । पहिरो झर्नेक्रम नरोपछि जल उत्पन्न डिभिजन कार्यालयको सहयोगमा जाली हाल्ने काम गरेपनि नरोकिएपछि झनै समस्या भएको जनाइएको छ ।
पहिरोले अस्पताल प्रशासनको जगसमेत तानेर लगेपछि दैनिक कामकाजमा समस्या भएको जिल्ला जनस्वास्थ्य कार्यालय खोटाङका प्रमुख चिकित्सक रामबहादुर केसीले बताउनुभयो । अस्पताल परिसर भित्र पहिरो झरेपछि सहायक प्रमुख जिल्ला अधिकारी दिनेश कुमालको रोहबरमा जिल्ला प्रहरी कार्यालयले सर्जमिन मुचुल्का तयार गरेको छ ।
दुई वर्षभित्र निर्माण सम्पन्न गरेर अस्पताललाई बुझाउनेगरि सम्झौता भएको भवन अढाइतले हुने सहरी विकास भवन डिभिजन शाखा कार्यालय खोटाङका प्रमुख इन्जिनियर भुपाल मगरले बताउनुभयो । कार्यालय प्रयोजनका लागि बनाउन लागिएको भवन खानी निर्माण सेवा प्रा.लि.ले ठेक्का पारेको हो ।
सहरी विकास भवन डिभिजन कार्यालय उदयपुरको दुई करोड ३६ लाख रुपैयाँ लगानीमा भवन निर्माण गर्न लागिएको अस्पताल विकास समितिले जनाएको छ । वि.सं. २०४८ सालमा स्थापना भएको जिल्ला अस्पताल खोटाङमा हाल भवन अभाव हुँदा समस्या रहेको विकास समितिका अध्यक्ष नारायण जोशीले जानकारी दिनुभयो ।