खोटाङको मेवा खोला हाईड्रोपावरबाट दुई हप्तापछि बत्ती बल्ने भएको छ । १ मेगावाट क्षमताको हाईड्रोपावरको निर्माणका सबै काम पूरा भएकाले दुई हप्ताभित्र टेस्टिङ र कमिसनिङका काम गरेर बत्ती बालिने हाईड्रोपावर कम्पनी प्रालिका प्रबन्ध निर्देशक अर्जुन राईले जानकारी दिए । 
बिहिबार सदरमुकाम दिक्तेलमा सार्वजनिक कार्यक्रम गरेर हाईड्रोपावर कम्पनीले हाईड्रोपावरको ड्राई टेस्ट गरिसकिएकाले बत्ती बाल्न र केन्द्रीय प्रशारण लाईनमा जोड्न मात्र बाँकी रहेको जनाएको छ । चिनबाट आउने तीन सदस्यीय ईन्जिनियरले टेस्टिङ र कमिसनिङ गरेपछि विद्युत बल्ने प्रबन्ध निर्देशक राईले बताए । 
समुदायको ३० प्रतिशत तथा सानिमा बैंकको अगुवाईमा बैंक आफ काठमाडौंको ७० प्रतिशत गरी २१ करोड ५० लाखको लागतमा दिक्तेल नगरपालिका–१० लफ्याङस्थित मेवा खोलाबाट विद्युत उत्पादन गर्न लागिएको हो । 
लोडसेडिङको मार खेपीरहेका जिल्लाबासी दुई हप्ताभित्र मेवा खोला जलविद्युत सञ्चालन हुने खबरले उत्साहित बनेका छन् । हाल २.५ मेगावाट बिद्युत खपत भइरहेको जिल्लामा मेवा खोलाको १ मेगावाट थप हुँदा उर्जा संकटमा कमी आउने दाबी गरिएको छ । 
जिल्लालाई लोडसेडिङमुक्त बनाउने लक्ष्यका साथ साप्सु–कालिका हाईड्रोपावर कम्पनी प्रालि काठमाडौंको प्रबद्र्धनमा पीपीपी मोडलमा जिल्लामै पहिलोपल्ट २०७१ साल मंसिरदेखि हाईड्रोपावरको काम सुरु गरिएको हो । 
२०७२ साल असोजमा बत्ती बाल्ने भनिएको हाईड्रोपावरको काम लगातार दुई पटक आएको बाढी, भूकम्प र भारतीय नाकाबन्दीका कारण वर्षदिन पछि धकेलिएको आयोजना प्रमुख ललितकुमार राईले बताए ।
बाढीको क्षतीका कारण सुरुमा स्टीमेट गरेभन्दा २ करोड ५० लाख बढि खर्च लागेको हो । खोलाबाट निकालिने हाईड्रोपावरको काम पूरा भएपछि एक नगरपालिका र ७२ गाबिस रहेको जिल्लाका ४० गाविस लोडसेडिङमुक्त बन्ने साप्सु–कालिका हाईड्रोपावर कम्पनीले जनाएको छ ।