खोटाङ, १ असोज । जिल्ला प्रशासन कार्यालय खोटाङले अस्पतालबाट लिलाम बिक्री भएका सामानलाई सिलबन्दी गरेको छ ।
 मर्मत गर्दा काम लाग्ने खालका उपकरणलाई कौडीको दाममा लिलाम बिक्री गरिएको भन्दै बिरोध सुरु भएपछि प्रशासनले अनुसन्धानकाक्रममा राखेकै ठाउँमा पुगेर उपकरणलाई सिलबन्दी गरेको हो । जिल्ला अस्पतालले लिलाम गरेका ११२ थरिका उपकरण तथा सामानमध्ये प्रशासनले दिक्तेल नगरपालिका–२ का बिनोद दाहालको घरमा राखिएका जेनेरेटर, फेटोकपी मेसिन, कम्प्यूटर सिपियू, फ्याक्स मेसिन, इलसिडि मनिटर, कुर्सी लगायतका २५ प्रकारका सामानलाई सिलबन्दी गरेको हो ।
 जिल्ला अस्पतालले जिल्ला अस्पतालतर्फका ७२ र जनस्वास्थ्य कार्यालयतर्फका ४० गरी ११२ थरिका उपकरण तथा सामान २६ हजार ५ सयमा लिलाम बिक्री गरेको ७ महिनापछि खुलासा भएपछि सर्वत्र बिरोध भइरहेको छ । अस्पताल बिकास समितिलाई जानकारी नै नगराई करोडौंको उपकरण न्यून मूल्यामा बिक्री गरेको भन्दै खोटाङ एकता सेवा समाज खोटाङले दोषीमाथि कारबाही गर्न र लिलाममा परेका उपकरण सिल गर्नकालागि प्रशासन समक्ष गत बुधबार ज्ञापनपत्र बुझाएको थियो । 
अन्य सामानका विषयमा अनुसन्धानकालागि खोज गर्दै सिलबन्दी गर्ने तयारी गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताउनुभयो । अस्पतालको उपकरण लिलामका बिषयमा अख्तियारले समेत चासो दिएको छ । अस्पतालले लिलाम बिक्री गरेको कतिपय उपकरण मर्मतपछि दिक्तेलमै खोल्न लागिएको एक सामुदायिक अस्पतालमा उपयोगमा ल्याउन लागिएपछि अस्पतालले कम मूल्यामा उपकरण लिलाम गरेको खुलासा भएको थियो । लिलाम गरिएका सामान दाहालले लिएको र दाहालमार्फत अस्पताल र क्लिनिक सञ्चालक समक्ष पुगेको हो । सस्तो मूल्यमा जिल्ला अस्पतालको उपकरण सामुदायिक अस्पतालमा पु¥याइनुमा मिलेमतो गरिएको स्थानीयको दाबी छ । 
दक्षिण कोरियामा कार्यरत खोटाङ्गेले उपलव्ध गराएको भिडियो एक्स–रे मेसिन समेत लिलाममा परेको छ । लिलाममा गएका भनिएका कतिपय कम्प्यूटर कार्यालयकै कर्मचारीले राखेको श्रोतको भनाई छ । जिल्ला अस्पतालले भने मर्मत गर्दा पनि काम नदिने उपकरण लिलाम गरेको बताएको छ ।