खोटाङ २ असोज । साहित्यकार गजल तथा कविता विधामा समेत अमेट हात बसाएका खोटाङका युवा श्रष्टा प्रमोद ‘स्नेही’ श्रेष्ठको रेकर्ड भएको पहिलो गीत निक्कै चर्चित बन्न पुगेको छ ।
प्रमोद |
उनको गीत मन पराउनेहरु बढ्दै गएका छन् भने गीतले चर्चा समेत निक्कै बटुलेको छ । राजनराज शिवाकोटीको संगीतमा चर्चित गायिका अन्जु पन्तको गलाबाट सज्जित ‘फुल्छ फूल उ हाँगाले नै राम्रो’ बोलको प्रमोदको गीत यतिबेला निक्कै चर्चामा रहेको हो ।
हालै रेकर्ड गरिएको उक्त गीतलाई युट्युबमा सार्वजानिक गरिएको छोटो समयमा नै ६७ हजार बढी गीत–संगीतप्रेमीले हेरिसकेका छन् भने युवा पुस्ताले गुन्गुनाउन थालेका छन् । जिल्लाको पुरानो तथा ऐतिहासिक अर्खौले बजारमा जन्मी सानै उमेरदेखि साहित्य आकाशमा विचरण गर्दै आएका स्नेहीको हाल रातारात चर्चित बनिरहेको ‘फुल्छ फूल उ हाँगाले नै राम्रो’ बोलको गीतमा मन छुने शब्द–भाव र गीति संयोजन रहेका छन् । ‘स्नेही’को शब्द–शब्दबाट तयार सुन्दर गीति बान्कीसँगै शिवाकोटीको संगीत, पन्तको स्वर अनि साहस शाक्यको एरेजमेण्टमा पनि उत्तिकै लोभ लाग्दो तादम्यता रहेको संगीत पारखीहरुको भनाई छ ।
उसो त खोटाङ गजल मञ्च खोटाङका सचिव समेत रहेका प्रमोद ‘स्नेही’ श्रेष्ठले कक्षा १० मा अध्ययनरत छँदै ‘नेपालीका चोटहरु’ नामक कविता संग्रह कृति प्रकाशनमा ल्याईसकेका छन् । गीतको चर्चा सँग–सँगै गीत लेखन तथा समग्र साहित्य क्षेत्रमा प्रमोदको भूमिका र जिम्मेवारी अझ थपिएर गएको छ ।