खोटाङ, ११ असोज । सुत्केरी व्यथाका कारण सिकिस्त बनेकी गर्भवती महिलालाई नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौं पठाइएको छ ।
सुत्केरी व्यथा लागेको लामो समयसम्म बच्चा जन्मिन नसकेपछि खोटाङ दिक्तेल नगरपालिका–१० लफ्याङकी २२ वर्षीया गर्भवती मनिला राईलाई सोमबार साँझ काठ्माण्डौं पठाइएको हो ।
स्वास्थ्यमा जटिल समस्या आउन सक्ने भन्दै जिल्ला अस्पताल दिक्तेलले रेफर गरेका गर्भवती राईलाई काठमाडौं पठाइएको आफन्तले बताएका छन् । निजी हेलीकोप्टर नपाएका कारण मनिलालाई २ लाख ५० हजार डिपोजिट गरेर नेपाली सेनाको हेलीकोप्टरबाट काठ्माण्डौं पठाइएको हो । 
पहिलो बच्चा जन्माउन लागेकी मनिलाईलाई आईतबार अस्पतालमा भर्ना गरिएको थियो । सुरुमा ‘नर्मल भनिएपनि अन्तीममा जटिल’ समस्या देखाएर अस्पतालले रेफर गरेको आफन्त किसन राईले बताए । ‘निजी हेलीकोप्टर पाइएन,’ राईले भने, ‘मिटरका आधारमा उठ्ने शुल्कमा सेनाको हेलीकोप्टर मिलाइएको हो ।’ सुरुमा डिपोजिट बढि राख्नपरे पनि मिटरका आधारमा १ घण्टा ३० मिनेटमा १ लाख ६० हजार ७१३ रुपैयाँ मात्र शुल्क लागेको बिरामीका आफन्तले बताएका छन् । 
जिल्लामा बिरामी अस्पताल जानकालागि २ लाखसम्म खर्च गरेर राजधानी पुग्न बाध्य छन् ।