खोटाङ ११ असोज
खोटाङ जोड्ने थप दुई वटा पक्की पुल निर्माणको काम अघि बढेको छ । जिल्लालाई जोड्ने दुधकोसीको जयराम र सुनकोसीको फोक्सिङ्टारमा पक्की पुल निर्माणको काम भइरहेका बेला दुधकोसीको रभुँवा र सुनकोसीको धाप्लाङघाटमा टंकी बेसिसमा पक्की पुल निर्माणको काम अघि बढेको हो ।
धाप्लाङघाट र रभुँवामा मोटरेबल पुल निर्माणकालागि जयराम लामीछानेको स्वच्छन्द निर्माण सेवाले चार महिनाभित्र पुलको सर्भे, डिजाईन र स्टीमेटका काम पूरा गरेर निर्माणको काम थाल्नकालागि अनुमती पाएको सांसद बिशाल भट्टराईले जानकारी दिए । सर्भे, डिजाईन र स्टीमेटका काम सकिएपछि सडक बिभागको अनुमतीमा ठेकेदार कम्पनीले पुल निर्माणको काम थाल्ने जनाइएको छ ।
ठेकेदारले काममा ढिलाई नगरे आगामी ३ वर्षमा दुबै ठाउँको पुल निर्माण सम्पन्न हुने छ । पुलको लागत सर्भे, डिजाईन र डिटेल स्टीमेट पछि मात्र आउने छ ।
जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने धाप्लाङघाटमा पुल बनेपछि उदयपुरको गाईघाटबाट सिधै साउने हुँदै धाप्लाङ–धर्तुङ हुँदै चिसापानीसम्म सिधा यातायात सेवा बिस्तार हुने छ । यस्तै, रभुँवामा पुल बनेपछि दिक्तेलबाट सिधै लामीडाँडा–रभुँवाघाट हुँदै ओखलढुंगा सदरमुकाम आवतजावत गर्ने मार्ग खुल्ने छ ।