खोटाङ, असोज–१४ । सडक दुर्घटना न्यूनीकरणकालागि खोटाङमा हरेक बेलुका ७ बजेपछि यात्रुबाहक गाडी चलाउन रोक लगाइएको छ । निरन्तरको वर्षाका कारण जिल्लाका सडकको अवस्था खराब बनेका कारण बेलुका ७ बजेपछि बस तथा जीप चलाउन रोक लगाइएको हो । यातायात व्यवसायीकै उपस्थितिमा बिहिबार जिल्ला प्रशासन कार्यालयमा बसेको सर्वदलीय बैठकले सडक यातायातलाई सुरक्षित र यात्रुमैत्री बनाउन भन्दै रातका समयमा गाडी नचलाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताउनुभयो । सडक यातायातलाई सुरक्षित बनाउन ‘टाईमकार्ड’को समेत व्यवस्था गर्ने निर्णय गरिएको प्रशासनले जनाएको छ ।
यस्तै, दशैं र तिहारलाई लक्ष्यीत गर्दै खोटाङका प्रमुख सडकलाई मर्मत गरेर सञ्चालनमा ल्याउने तयारी गरिएको छ । वर्षाका कारण अवरुद्ध सडकमध्ये दिक्तेल–हलेसी सडकलाई मर्मत गरेर सञ्चालनमा ल्याउने निर्णय गरिएको हो । सडक कालोपत्रेको प्रारम्भिक चरणको काम गरिरहेकै ठेकेदार कम्पनीलाई बिग्रेका सडक खण्ड मर्मत गर्ने जिम्मा दिइएको प्रमुख जिल्ला अधिकारी कार्कीले जानकारी दिनुभयो ।