खोटाङ, असोज १५ । आर्थिकरुपमा आत्मनिर्भर बन्नकालागि सितोरियो कराते खेलाडीले खोटाङ सदमुकाम दिक्तेलमा कलेक्सन हाउस खोलेका छन् । खेलाडीले भोग्नुपर्ने आर्थिक समस्या हल गर्नकालागि नेपाल सितोरियो कराते संघ खोटाङमा आवद्ध दश खेलाडीले सामुहिक लगानी गरेर इमो स्पोर्टस लेडिज एण्ड जेन्स कलेक्सन हाउस खोलेका हुन् । खेलकुद तथा श्रृंगार सम्बन्धीका सामान राखिएको कलेक्सन हाउस प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले रिबन काटेर उदघाटन गरेका छन् ।
दिक्तेल नगरपालिका २ सिँचाईगेट नजिक खोलिएको कलेक्सन हाउसमा खेलकुद सामग्री, जुत्ता, चप्पल, व्याग, श्रृंगारका सामग्री राखिएको छ । खेलाडीलाई आर्थिकरुपमा आत्मनिर्भर बनाउँदै सितोरियो खेलको उन्नतीकालागि सामुहिकरुपमा कलेक्सन हाउस सुरु गरिएको सितोरियो कराते संघका अध्यक्ष सञ्जयकुमार राईले बताए । करिब १० लाखको लगानीमा सुरु गरिएको कलेक्सन हाउसमा बिशेषगरी सितोरियो करातेका गी, ट्रयाक, ग्लोव्स, बेल्ट, फुटबल तथा भलिबल सम्बन्धी सामग्री, मेडल, ट्रफी लगायतको बिक्री कक्ष राखिएको छ । कलेक्सन हाउसमा सितोरियो खेलाडीहरुले नै काम गर्दैआएका छन् ।
आर्थिक समस्याकै कारण बिभिन्न प्रतियोगीतामा सहभागी हुन र आफ्नो प्रतिभा देखाउनबाट बञ्चित हुनुपर्ने बाध्यता अन्त्याकालागि सामुहिकरुपमा व्यवसाय सुरु गरिएको हो । ‘कति मागेर चन्दा उठाएको खर्चले प्रतियोगीतामा सामेल हुने !,’ राईले भने, ‘यसरी मात्र हाम्रो उन्नती हुँदैन, आर्थिकरुपमा आफै सबल बन्नु पर्छ, परनिर्भरता तोड्नु पर्छ भनेर कलेक्सन हाउसको कल्पना गरिएको हो ।’ भनेको समयमा चन्दा नपाउँदा क्षमतावान खेलाडीले प्रतियोगीतास्थलसम्म पुगेर क्षमता प्रदर्शन गर्न नपाएको खेलाडीहरुको गुनासो छ । हालसम्म जिल्लाका खेलाडी जिबिस, नगरपालिका, गाबिस, संघसंस्था तथा व्यक्तीले दिने खर्चमा प्रतियोगीतामा सामेल हुने गरेका छन् । जिल्ला स्तरिय, क्षेत्र स्तरिय र राष्«िय प्रतियोगीता सुरु हुनुपुर्व खेलाडीहरुले आफै आर्थिक श्रोत जुटाउँदै आएका छन् ।