खोटाङ, ४ कातिक । जिल्लाको पर्यटकीयस्थल मझुवागढी जानका लागि फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको छ । गढी आवतजावत गर्ने आन्तरिक तथा बाह्य पर्यटकलाई लक्षित गरेर दिक्तेलस्थित हाटडाँडादेखि भगवतीपार्कसम्म फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो ।
जिल्ला विकास समितिमार्फत सञ्चालित एसबिएलएल परियोजनाको आर्थिक तथा जिल्ला प्राविधिक कार्याय खोटाङको प्राविधिक सहयोगमा पदमार्ग निर्माण गरिएको उपभोक्ता समितिका अध्यक्ष भूपराज राईले बताउनुभयो । अध्यक्ष राईका अनुसार हाटडाँडादेखि चार खण्ड गरेर क्रमिक रुपमा तीन आर्थिक वर्ष लगाएर फलामे रेलिङसहितको पदमार्ग निर्माण गरिएको हो ।
पदमार्ग निर्माण भएपछि आन्तरिक तथा बाह्य पर्यटकलाई आवतजावतमा सहज भएको गढी संरक्षण तथा पर्यटन विकास समितिका अध्यक्ष बबी चाम्लिङले बताउनुभयो । “मझुवागढी हाम्रो साँस्कृतिक धरोहर हो ।” नेकपा एमालेका जिल्ला अध्यक्ष समेत रहनुभएका राईले भन्नुभयो, “गढीलाई संरक्षण र विकास गर्न सके जिल्लाको मात्र नभइ राज्यलाई समेत आर्थिक समृद्धिमा टेवा पुग्ने थियो ।”
सदरमुकाम दिक्तेलबाट करिब ४५ मिनेट पैदल यात्रापछि पुगिने गढीलाई संरक्षण र विकास गर्न परियोजनाले रु ४० लाख ५० हजार सहयोग गरेको छ । तीन वर्षअघिदेखि निर्माणको काम थालिएको पदमार्ग हालै सम्पन्न भएको जिल्ला प्राविधिक कार्यालय खोटाङका प्रमुख इन्जिनियर राजु श्रेष्ठले जानकारी दिनुभयो ।
समुन्द्री सतहदेखि करिब दुई हजार मिटर अग्लो डाँडामा रहेको मझुवागढीमा वि.सं. १८०४ सालसम्म राजा रणवीर हाङले राज्य गरेको प्रमाण छ । चारैतिर जङ्गलले घेरिएको सो गढीमा अहिले दैनिक ५०÷६० जना आन्तरिक पर्यटक घुम्न र विभिन्न ठाउँको दृष्य अवलोकन गर्न आउने गरेका छन् ।
गढी परिसरमा पर्यटकका लागि वर्षादको समयमा बस्ने ट्रष्ट तथा पानीको व्यवस्थासमेत मिलाइएको छ । बाह्रै महिना आन्तरिक पर्यटक आउने गढीमा थप पानी र भौतिक पूर्वाधारको व्यवस्था मिलाउन सर्वेक्षणसमेत गरिएको छ ।
मझुवाको अर्थ माझ भन्ने बुझिन्छ । मझुवा गढीको पश्चिम दिशामा महुरेगढी, हाल नुनथला गाविसमा रहेको छ । त्यस्तै, पूर्वमा चुइचुम्वागढी याम्खा गाविसमा पर्छ भने, दक्षिणमा खाम्तेल गढी हाल राजापानी गाविसमा रहेको छ ।
चारैतिर गढी रहेको मझुवा बिचमा पर्ने भएकाले उक्त ठाँउको नाम मझुवागढी भनिएको जानाकारहरु बताउँछन् । चारैतिर रहेका गढीहरु मझुवागढीबाट प्रस्ट देखिन्छ ।
गढीको उत्तर दिशामा बारुद ढुङ्गा र हतियार निमार्ण गर्ने भट्टी रहेको छ । गढीको पूर्वमा फुलपातिडाँडा राँगा आहल र दमाहा ढुङ्गा रहेको छ । त्यस्तै, गढीको बिच भागमा मौली रहेको छ । उसबेला रणवीर राजाका रैतिहरुले दशै मान्नको लागी ल्याएका राँगा बोकाहरु राख्ने ठाँउलाई मौली भन्ने गरिन्थ्यो ।
मौलीभन्दा अलिक अगाडी पूजाआजा गर्ने ठाँउ छ । त्यसको केहीमाथी राजाको दरवार र कोट गार्ड (सुरक्षाकर्मी) बस्ने ठाँउ अवलोकन गर्न सकिन्छ । गढीको दक्षिण दिशामा तारा खसेको ठाँउ रहेको छ भने, गढीवरीपरि बम्कर घेरासमेत रहेको छ ।
गढीको केही तल कालिका भगवती मन्दिर रहेको छ । भगवती मन्दिरमा अहिले पनि दैनिकजसो बाख्राको पाठी बली दिने गरिन्छ ।
गढीमा हरेक वैशाखे पूर्णिमाको दिन पूजा गर्दै साकेला नाच्ने गरिन्छ । मझुवागढीदेखि केही तल स–शस्त्र प्रहरी बलको क्याम्प हलेसी गुल्म रहेको छ ।