खोटाङ, ७ कार्तिक । किरात समुदायको ऐतिहाँसिक थलो मानिएको खोटाङको उत्तरी गाविस रिब्दुङ महेश्वरीमा किरात संग्रहलय निर्माण हुने भएको छ । 
किराती जातिको लोपोन्मुख अवस्थामा पुगेका ऐतिहासिक सामाग्री, धार्मिक सामाग्री, सांस्कृतिक सामग्री, भेषभुषा, गरगहना लगायतका बहुमुल्य सम्पदालाई संकलन गरी संरक्षण गर्न संग्रहालयको आवश्यकतालाई मध्यनजर गर्दै महेश्वरीमा ‘रिब्दुङ सांगीतिक साँझ–२०७३’ को तयारी गरिएको छ । 
किरात संग्रहालय निर्माणकालागि आर्थिक श्रोत जुटाउन कार्तिक १२ गते महेश्वरीमा हुने सांगीतिक कार्यक्रममा गायक तथा संगीतकार जीतेन राई, गायिका पार्बती राई, निलम रोजु राई, गायक जनम थुलुङ, पदम थुलुङ लगायतका कलाकारलाई निम्त्याइएको आयोजक किरात राई यायोक्खा महेश्वरीले जनाएको छ । 
हजारौँ वर्ष पूरानो इतिहास र सभ्यता भएको किरातीसँग सम्बन्धित संग्रहालय कम भएका कारण महेश्वरीमा किरात संग्रहालय निर्माणको योजना बनाइएको यायोक्खाका सदस्य उदिम किरातीले बताए । यायोक्खा गाउँ कार्य समितिले महेश्वरी–३ धिनडाँडास्जिथत ज्योति प्राविको आसपासमा करिब १७ लाखको लागतमा संग्रहालय निर्माण गर्ने योजना बनाएको छ । भूकम्प प्रतिरोधी दुई तले भवनको भुईँ तलामा सामुहिक चुल्हो घर तथा माथिल्लो तलालाई संग्रहालय बनाईने आयोजक समितिका सदस्य समिता राईले बताईन् ।