खोटाङ । पिसिआरमा नेगेटिभ देखिएका खोटाङका एक जना युवामा पुनः पिसिआर परीक्षण गर्दा कोरोना पोजेटिभ देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार खोटाङमा चार जनामा कोरोना पुष्टि भएको जनाएको छ ।

चार जनामध्ये दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका १८ वर्षका एक पुरुष पनि हुन् । उनी भारतबाट आएका थिए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिप नारायण रिजालका अनुसार ती पुरुषले जिल्ला प्रवेश गर्न अघि नै पिसिआर गरेका थिए । पिसिआरमा उनको नेगेटिभ आएको थियो । पिसिआर नेगेटिभ आएकै कारण उनलाई ५ दिन क्वारेन्टाइनमा राखियो । पाँच दिन क्वारेन्टाइनमा राखिएपछि उनको आरडिटी परीक्षण गरिएको थियो । आरडिटीमा पनि नेगेटिभ आएपछि घर पठाएका युवाको पुनः पिसिआर परीक्षणमा भने कोरोना पुष्टि भएको हो ।

‘उहाँले पहिले पिसिआर गर्नु भएको रहेछ, त्यहीँ भएर हामीले ५ दिन मात्र क्वारेन्टाइनमा राखेर आरडिटी परीक्षण गर्यौ, आरडिटीमा पनि नेगेटिभ देखिएपछि घर पठाएका थियौं, घर पठाउँदा पिसिआर स्वाब चाँही लिइराखौं न त भनेर लिएको थियौं, पोजेटिभ आएछ ।’ मेयर रिजालले हाम्रोखोटाङ डटकमसँग भने ।

अहिले ती युवालाई बिपी कोइरालास्थित कोरोना अस्पताल पुर्याएको छ भने घर सिल गरिएको छ । परिवारका सदस्यको स्वाब लिएर परीक्षण गर्ने कार्य भइरहेको मेयर रिजालले जानकारी दिए ।

खोटाङमा आइतबार कोरोना पुष्टि भएका चारमध्ये अन्य भने क्वारेन्टाइनमा नै रहेको र उनीहरुलाई कोरोना अस्पताल उपचारका लागि पुर्याइएको छ ।