खोटाङ, १९ कात्तिक । ज्वरोका कारण ज्यान गुमाएका खोटाङको बुईपा–२ का शिक्षक दिपक राई परिवारको सहयोगार्थ गठन गरिएको ‘शिक्षक दीपक राई स्मृति सहयोग समिति’ले पिडित परिवारलाई ५ लाख प्रदान गरेको छ । 
उच्च ज्वरोका कारण शिक्षक राईको मृत्यु भएपछि बिचल्नीमा परेका श्रीमती र दुई नाबालिका छोरीको जीवनयापन तथा शिक्षादिक्षाकालागि शुभेच्छुकबाट सहयोग रकम संकलन गरेर प्रदान गरिएको हो । बहिबार चम्पावती उच्च माबि बुईपामा आयोजित कार्यक्रममा सहयोग समितिका सदस्य पर्शुराम राईले मृतककी श्रीमती सुनिता राईलाई चेक हस्तान्तरण गर्नुभएको हो । 
नाबालिका छोरीको नाममा जम्मा गर्ने र आउने व्याजबाट उनीहरुकै शिक्षादिक्षामा खर्च गर्ने र १२ कक्षा उत्तिर्ण गरेपछि उनीहरुलाई नै प्रदान गरिने सहयोग समितिका सदस्यसचिव राजेश चामलीङले बताउनुभयो । राईकी जेठी छोरी सुम्नीमा चम्पावती माबिमा कक्षा २ मा र कान्छी छोरी कक्षा १ मा अध्ययनरत छिन् । 
उच्च ज्वरोले थलिएका चम्पावती उच्च माबि बुईपाका ३३ वर्षीय शिक्षक राईको प्रतिकुल मौसमका कारण हेलीकोप्टर नआउँदा गत साउन–२८ गते शुक्रबार साँझ ज्यान गएको थियो । समितिले उत्कृष्ट शिक्षकलाई पुरस्कृत गर्नेगरी मृतक शिक्षकको नाममा अक्षयकोष स्थापना गर्ने जनाएको छ ।