काठमाडौं । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई दर्जन नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २६ पुगेको हाे ।

स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा स्याङ्जाका १ र ललितपुरका १ जना गरी २ दुई जनाको मृत्यु भएको जनाएको छ । योसँगै मृतकको संख्या २६ पुगेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मधुमेहका बिरामी स्याङ्जाको आँधिखोला १ का ५५ वर्षीय पुरुषमा असार ८ गते कोरोना पोजेटिभ देखिएको थियो। कोरोना पोजेटिभ देखिएको ती पुरुषको पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको आइसियुमा उपचारकै क्रममा हिजो मृत्यु भएको हो।

यस्तै, ललितपुरको महालक्ष्मी ५ का ५० वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको हो। ५ महिनाअघि मानव अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा मिर्गौला प्रत्यारोपण गरेका पुरुषको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए। नर्भिक अस्पतालमा उपचारका क्रममा कोरोना पोजेटिभ देखिएपछि उनलाई पाटन अस्पताल भर्ना गरिएको थियो।

यता, नेपालमा कोरोना संक्रमित संख्या ११ हजार १ सय ६२ पुगेको छ । नेपालमा पछिल्लो २४ घण्टामा ४३४ जना कोरोना संक्रमित थपिएका हुन् । बिहीबार थपिएका संक्रमितहरूमा ४८ जना महिला र ३८६ पुरुष छन् ।