उत्तम चौलागाई/खोटाङ 
कात्तिक २० । अवरुद्ध खोटाङको थामखर्क विमानस्थलको उडान सुचारु गर्न परिक्षण उडान गरिएको छ । वर्षाका कारण गत असार पहिलो साताबाट अवरुद्ध बनेको विमानस्थलको उडान सुचारु गर्न सनिबार नेपाल एयरलाईन्सले परिक्षण उडान भरेको हो । 
परिक्षण उडानका क्रममा धावनमार्गमा कुनै पनि समस्या नरहेको एयरलाईन्सका क्याप्टेनहरुले बताएका छन् । धावनमार्गमा समस्या नरहेपनि क्याप्टेनहरुले प्राधिरणलाई रिपोर्ट पेश गरेपछि र प्राधिकरणले उडान भर्ने गरि तालिका सार्वजनिक गरेपछि विमानस्थलको उडान सुचारु हुने विमानस्थलका स्टेशन ईन्चार्ज नरेन्द्र उदासले जनकारी दिए ।  वर्षाका कारण धावनमार्गमा समस्या देखाएर प्राधीकरणले उडान भर्न आनाकानी गरेका कारण गत असोज पहिलो साताबाटै उडान सुरु हुनपर्ने विमानस्थालमा यस पटक ढिला गरि उडान सुचारु गर्न लागेको उदासको भनाई छ । नेपाल एयरलाईन्स प्राधिकरणले भने यहि कार्तिक २५ गतेभित्रमा उडान सुचारु गरिने जनाएको छ । 
हप्ताको मंगलबार, सनिबार काठमाण्डौ ंथामखर्क र सनिबार थामखर्क बिराठनगरका लागि नेपाल एयरलायन्स प्राधिकणरले उडान भर्दै आएको विमानस्थलमा उडान सूचारु भएपछि  जिल्लाको दक्षिणी क्षेत्रका लाखौं सर्वसाधरणलाई सहजता हुने भएको छ  । वर्षालागेसंगै अवरुद्ध हुन उक्त विमानस्थल र  यातायातको सुविधा नपुगेको त्यस क्षेत्रमा बिरामीलाई उपचारका लागि तत्काल बाहिर पठाउन नसक्दा बर्षेनि अकालमा धेरैले ज्यान गुमानु पर्ने बाध्यता हिउँदमहिनाभरी हल हुनेछ । उडान सुचारु भएपछि जिल्लाका दक्षिणी क्षेत्रका २० गाविस सहित छिमेकी जिल्ला भोजपूरका सर्वसाधरणलाई राहत मिल्नेछ । 
दुई निर्वाचन क्षेत्र रहेको खोटाङमा तिन वटा बिमानस्थल रहेका छन् । क्षेत्र नम्बर एकमा लामीडाँडा र क्षेत्र नम्बर दुईमा खानीडाँडा र थामखर्क बिमानस्थल रहेका छन् । सदरमुकाम दिक्तेलबाट सवैभन्दा नजिक पर्ने खानीडाँडा विमानस्थल भने कालोपत्रे भएको छ । लामीडाँडा विमानस्थलमा कालोपत्रे नभएपनि बाह्रै महिना उडान हुने गरेको छ । थामखर्क विमानस्थल हिउँद महिनामा मात्र सञ्चालन हुँदै आएको छ ।  वर्षायाममा खोटाङ जोड्ने मुख्य द्धारको रुपमा रहेको जयरामघाट र उदयपुरको गाईघाट जोडने फोक्सीङटारको अस्थाई बेलीब्रज हटाईएसंगै  जिल्लाको तराईलगायत काठमाडौंसंगको सम्बन्ध बिच्छेद रहने गरेको छ । थामखर्क विमानस्थल सदरमुमाम दिक्तेलबाट २२ कोष टाढा रहेको छ । 
यद्यपि,  नेपाल नागरिक उड्यान प्राधिकरणकोे ९ करोड २५ लाख २९ हजार सहयोगमा विमानस्थल कालोपत्रे हुने भनिएपनि हालसम्म कुनैपनि काम सुरु भएको छैन् । २०५६ सालबाट दक्षिणी क्षेत्रका सर्वसाधरणलाई लक्षीत गरेर उडान सुरु गरिएको विमानस्थल हालसम्म कालोपत्रे नहुँदा हिउँद महिनामा मात्र संचालन हुदै आएको छ । गत साल डिटेल सर्भे गरिएको विमानस्थलको कालोपत्रेका लागि यस वर्ष साँढे पाँच करोड रुपैयाँ बजेट छुट्टिएको थियो ।