काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ५८६ जनामा कोरोना भाइरसका संक्रमण थपिएका छन् । यो नेपालमा एकै दिन थपिएका अहिलेसम्मकै उच्च संख्या हो । यससँगै संक्रमितको संख्या ७ हजार १७७ पुगेको छ ।

संक्रमित हुनेमा उदयपुरका ४, सिरहाका १, मोरङका ९, झापाका २, धनुषामा २६, महोत्तरीका २०० , बाराका ७, कपिलवस्तुका १०, रौटहटका १२७, रुपन्देहीका ७, सर्लाहीका ६, प्युठानका ३८, कैलालीका १, पर्वतका ३, पूर्वी नवलपरासीका १७, गुल्मीका २६, अर्घाखाँचीका १२, बाँकेका १, बर्दियाका ३१, दाङका ८, सल्यानका २५, सुर्खेतका २, दैलेखका २, कालिकोटका १४ र कञ्चनपुरका ७ जना रहेका छन् ।

नेपालमा कोरोना संक्रमणलाई जितेर पछिल्लो २४ घन्टामा जना ९ जना डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार बुधबारसम्म नेपालमा आरडीटी विधिबाट २ लाख ३३ हजार ५४३ नमुना परीक्षण भएका छन् । २४ घन्टामा १० हजार २४ आरडीटी परीक्षण भएका छन् । पीसीआर विधिबाट भने हालसम्म १ लाख ४९ हजार ७७२ परीक्षणहरु गरिएका छन् र २४ घन्टामा ६ हजार ३७ परीक्षण भएका छन् ।

मृतकको संख्या २० पुग्यो
नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २० पुगेको छ । कोभिड–१९ संक्रमणबाट पछिल्लो पटक थप एक महिलाको मृत्यु भएको हो ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ६ की ४६ वर्षीया महिला नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मिर्गौलाको समस्याका कारण अस्पताल भर्ना भएकी ती महिलाको कोभिड–१९ परीक्षण गर्दा पोजेटिभ नतिजा आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए । उनको मृत्युपश्चात नतिजा पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।