खोटाङ, २६ कात्तिक । खोटाङ फुटबल एकेडेमीको आयोजनामा सदरमुकाम दिक्तेलमा जारी माबि स्तरिय छात्र फुटबल प्रतियोगीता अन्तरगत शुक्रबार ८ खेल भएका छन् ।
विद्यालय स्तरबाटै फुटबलको व्यवसायीक बिकासका लागि एकेडेमीले व्यवसायी तथा शुभेच्छुकको प्रायोजनमा बिहिबारदेखि सुरु गरेको माबि स्तरिय छात्र फुटबल प्रतियोगीताको दोश्रो दिन ‘लिग कम नकआउट’को आधारमा ८ खेल भएका हुन् ।
स्थानीय माटिकोरे खेलमैदानमा जारी प्रतियोगीतामा शुक्रबार सरस्वती माबि दिक्तेलले पञ्च माबिलाई २ का बिरुद्ध ६ गोल, दिक्तेल इंलिस बोर्डिङ स्कुलले स्याम्पल एकेडेमीलाई शुन्यका बिरुद्ध २ गोल, सरस्वती माबिले सितला माबिलाई १ का बिरुद्ध ८ गोल, दिक्तेल इंलिस बोर्डिङ स्कुलले हिमालय निमाबिलाई शुन्यका बिरुद्ध ५ गोल, साकेला माबि रतन्छाले पञ्च माबिलाई शुन्यका बिरुद्ध ५ गोल, माउण्ट एभरेष्ट बोर्डिङ स्कुलले स्याम्पल एकेडेमीलाई १ का बिरुद्ध ५ गोल, सरस्वती माबिले साकेला माबिलाई १ का बिरुद्ध ३ गोल गरेको छ । सितला माबि र पञ्च माबिबीच भएको अन्तिम खेल भने गोलरहित बराबरीमा टुंगिएको फुटबल एकेडेमीका खेल संयोजक श्याम पौडेलले बताए । पत्येक खेलमा जित्ने टिमले प्राप्त गर्ने ३ अंकका आधारमा खेल सेमीफाईनल र फाईनलमा पुग्ने आयोजकले जनाएको छ ।
आईतबारसम्म सञ्चालन हुने प्रतियोगीताका बिजेता टिमले नगद २० हजार, उपबिजेताले १५ हजार तथा फाइनलिस्ट दुई टिमले ५÷५ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने छन् । यस्तै, खेलका उत्कृष्ट खेलाडी, उत्कृष्ट किपर, हाइस्कोरर र अनुशासित टिमलाई पनि पुरस्कार प्रदान गरिने एकेडेमीका अध्यक्ष नूरकाजी शैंजूले बताए । प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले उद्घाटन गरेको प्रतियोगीतामा जिल्लाका ८ बिद्यालयले प्रतिष्पर्धा गरिरहेका आयोजकले जनाएको छ ।